गगनको दुखेसो : ‘सभापतिले बोलाउनुभएन, उहाँको घरमा नबोलाई जाने कुरा पनि भएन’

लोकपथ
143
Shares

कठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । महामन्त्री थापाले सरकार गठनका विषयमा सभापतिले आफूहरुसँग कुनै पनि छलफल नै नगरेको बताएका हुन् ।

पोखरामा जारी नेपाल लिट्रेचर फेस्टिबलको सोमबारको सत्रमा बोल्दै सरकार गठनका विषयमा पार्टीमा छलफल गर्ने भने पनि आफूलाई कुनै जानकारी नआएको बताए ।

‘मैले समाचार के पढेँ भने– सभापतिले पार्टीसँग छलफल गर्छु त्यसपछि गठबन्धनको बैठकमा निर्णय गर्छु भन्नुभएछ । त्यो पार्टीभित्र त म पनि अनिवार्य पर्छु । मलाई लागेको थियो मैले बेलुकाको यो कार्यक्रमको सत्र चाहिँ छुट्छ होला । बेलुकाको त्यो बैठकमा म हुनुपर्छ ।’ थापाले भने, ‘त्यसैले यहाँ छुट्छ होला जस्तो लागेको थियो । पार्टी कार्यालयमा होइन निवासमा भइरहेको छलफल । उहाँको घरमा नबोलाई जाने कुरा पनि भएन ।’

आइतबार पनि आफू पोखरा आउनका लागि तयारीमा रहे पनि पार्टीको बैठकमा बस्नुपर्ने भन्दै आफूले टिकट समेत सारेर बसेको तर बैठकमा बोलाउने कुनै संकेत नआएपछि पोखरा पुगेको बताए ।

‘बैठकमा बोलाइनेमा त पर्छु भनेर म टेलिफोन कुरेर बसेको थिए । प्लेनको टिकट पनि १० बाट १२ बजेलाई सारेर बसेको । त्यसैले म यहाँ आउँदै गर्दा त एक किसिमले भन्नुपर्दा अपमानित भएर आएको जस्तो लागेको छ । मैले त्यही कुरा महसुस गरेको हो ।’ उनले भने ।

सरकार गठनका लागि आइतबार बिहानैबाट प्रधानमन्त्री निवास बालुवाटार गठबन्धनको बैठक बसे पनि पार्टीका दुब महामन्त्रीलाई बोलाइएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?