‘निष्ठूरीले छोडेर गैहाली …’

लोकपथ
507
Shares

काठमाडौं । सत्ता गठबन्धन भत्किएसँगै वामघटकमध्येका दुई दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को लगनगाँठो पनि चुँडिएको छ । उनीहरु फरक गठबन्धनमा पुगेका छन् । दुई वर्षअघि आजकै दिन उनीहरु तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले विघटन गरेको मन्त्रिपरिषद्को विरुद्धमा सडक संघर्षमा उत्रिएका थिए ।

उनीहरुले ओलीले चालेको कदम असंवैधानिक भन्दै सडक र अदालतसम्म संसद् पुनस्र्थापनाको माग गर्दै आन्दोलन गरेका थिए । ओलीविरुद्ध माइतिघर मण्डलाको सडकमा ‘हामी यहाँ छौं’ भनेर एकसाथ देखिएका उनीहरु आजको दिन आइपुग्दा अलग कित्तामा पुगेका हुन् ।

ओलीले संसद विघटन गरेपछि पुस १० गते निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दबाब बढाउन उनीहरु सडक संघर्षमा निस्किएका थिए । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले २०७७ फागुन ११ मा बदर गरेसँगै प्रचण्ड–माधव नेपालले एकअर्कामा लड्डु खुवाएर खुशी साटासाट गरेका थिए ।

साबिक नेकपाभित्रको विवादबाट जोडिएको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीचको सहकार्य आज फेरि टुटेको छ । संसद विघटनविरुद्ध सडकबाट मोर्चाबन्दी थालेको दुई वर्ष पुगेकै दिन प्रचण्ड–माधवको सहकार्य टुटेको हो । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाट प्रचण्डले प्रधानमन्त्री नपाएपछि प्रचण्ड–माधवको सहकार्यमा ब्रेक लागेको हो ।

यसअघि विभिन्न चरणमा भएका नयाँ सरकार गठनका सहमतिका प्रयासहरु असफल भएपछि आइतबार अकस्मात् माओवादी अध्यक्ष प्रचण्ड ओली निवास बालकोट पुगेका थिए । प्रचण्डले प्रधानमन्त्री बन्नका लागि फेरि एमालेसँग सहकार्यको बाटो रोजेपछि माधव नेपाल एक्लिएका हुन् ।

आजै प्रचण्ड ७ दल र तीन स्वतन्त्र गरी १६९ सांसदको सुविधाजनक बहुमतसहित राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीमा नियुक्त भएका छन् । यो दृष्टान्तले ‘निष्ठूरीले छाडेर गैहाली….’ भन्ने एउटा चर्चित नेपाली लोकगीतलाई पनि सम्झाइ दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?