सम्पादकीय : नैतिक कठघरामा देउवा !

लोकपथ
1.3k
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सत्ता लालसाका कारण नेपालको सत्ता राजनीतिमा एकाएक यूटर्न आएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीको असंवैधानिक कदमको विरोधदेखि निर्वाचनसम्म मिलिजुली आएको गठबन्धनभित्र भाबी सरकारको नेतृत्व कसले लिने भन्नेमा सहमति हुन नसक्दा राजनीतिक समीकरण उल्टिएको हो । एमाले अध्यक्ष ओलीले सात दलको समर्थन जुटाइदिँदा अरु तीन स्वतन्त्र सांसद पनि यो नयाँ गठबन्धनमा मिसिन पुगेका छन् । यो सँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई १६९ जना सांसदको साथ मिलेको छ । यो सँगै प्रचण्डलाई तेस्रोपटक प्रधानमन्त्री बनेर सिंहदरबार प्रवेश गर्ने ढोका खुलेको छ ।

२०७७ पुष ५ गते नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि जन्मिएको पाँच दलीय गठबन्धनमा समेत पूर्णबिराम लागेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू नै प्रधानमन्त्री हुनुपर्छ भन्ने अडान लिएपछि अध्यक्ष प्रचण्ड एमालेको हाँगो समाउन पुगे । यही परिस्थितिको पर्खाइमा रहेका एमाले अध्यक्ष ओलीले पनि मौका छोपे र देउवा नेतृत्वको गठबन्धनमाथि बालकोटबाट ‘सर्जिकल स्ट्राइक’ प्रहार गरे । पाँच वर्षमा आलोपालो सत्ताको नेतृत्व गर्ने सहमति गर्दै प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा स्वीकारेका ओलीले बाँकी राजकीय एमालेको पोल्टामा पार्न पनि सफल भएका छन् । उता देउवाको अति हठले निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेस सत्ताच्यूतमात्र भएन, महत्वपूर्ण राजकीय पद गुमाउँदै संवैधानिक निकायहरुमा हुने नियुक्तिहरुबाट पनि हात धुनुपर्ने अवस्था आएको छ ।

कांग्रेसको संसदीय दलको नेतामा झण्डै दुईतिहाई मतसहित विजयी भएपछि उन्मत्त देउवाले योबीचमा आफ्नो गुटबाहेकको आवाजलाई बन्देज गर्दै पार्टीका पदाधिकारीलाई समेत पाखा लगाए । सरकार निर्माण जस्तो महत्वपूर्ण छलफलहरुमा संस्थापन इतरका कुनै पक्षलाई सामेल गराइएन भने महामन्त्रीद्वय समेतलाई पाखा लगाइयो । बरु, महाधिवेशनदेखि निर्वाचनसम्म अस्वीकृत भएका पात्रहरुलाई आफ्नो दूत बनाएर विभिन्न दलहरुसँग सहमति खोज्न पठाइयो । जसले आफ्नै पार्टीभित्र पनि असन्तुष्टिका आवाज बढाएको छ ।

देउवाको यस कदमले कांग्रेसले प्रधानमन्त्री पद त गुमायो नै राष्ट्रपति, सभामुख, राष्ट्रिय सभा अध्यक्षसमेत सुरक्षित गर्न नसक्ने अवस्थामा पुग्यो । त्यस्तै, आफूलाई मात्र केन्द्रमा राखेर लिँडेढिपी गरेका देउवाले प्रदेश सरकारहरुमा समेत कांग्रेसलाई विमुख बनाउँदै पाँच वर्षसम्म सडकमा खुम्चन बाध्य बनाए । गत निर्वाचनबाट कांग्रेस चारवटा प्रदेशमा पहिलो दल बनेको थियो । जसकारण उसकै नेतृत्वमा सरकार बन्ने लगभग पक्कापक्की थियो । अन्य प्रदेशमा कांग्रेसकै समीकरणमा सरकार बन्थ्यो । तर, देउवाले प्रधानमन्त्री पद त्याग्न नसक्दा प्रदेशबाट समेत कांग्रेस नाङ्गिनुपरेको छ । देउवाको यो कदमले उनलाई नैतिक कठघरामा उभ्याएको छ । यसले आगामी दिनमा उनको नेतृत्वमाथि प्रश्न त उठ्ने नै छ आम कांग्रेसी वृत्तमा देउवाको आलोचना पनि बढाउने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?