भारतसँगको सीमा व्यवस्थापन हुन नसक्दा अवैध कारोबार बढ्यो : चेम्बर अध्यक्ष मल्ल

लोकपथ
52
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भारतसँगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । नेपाल भारत खुला सीमाको फाईदा उठाएर अवैध कारोबार भईरहेको अध्यक्ष मल्लको भनाइ छ । सीमाबाट हुने अवैध व्यापारका कारण सरकारले राजश्वसमेत गुमाईरहेको अध्यक्ष मल्लले बताए ।

कैलाली चेम्बर अफ कमर्सले धनगढीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले भने, नेपाल भारत खुला सीमाको फाईदा उठाएर झण्डै ४० प्रतिशत अवैध कारोबार भईरहेको छ । यसले सरकारी राजश्वमा समेत गम्भिर असर गरिरहेको छ । मुलुकको व्यापारिक सन्तुलनका लागि आयात निर्यातलाई पनि व्यवस्थित गराउन आवश्यक छ ।’

आयातलाई व्यवस्थित गरेर निर्यात प्रर्वद्धन गर्नका लागि सरकारसँग हातेमालो गर्न चेम्बर अफ कमर्स तयार रहेको समेत अध्यक्ष मल्लले बताए । सरकारले करको दायारा फराकिलो पारेर राजश्व प्रणालीलाई चुस्त बनाउनुपर्नेमा उनले जोड दिए । अध्यक्ष मल्लले भने, ‘सीमाबाट हुने राजश्व चुहावट नियन्त्रण हुन सकेको छैन । कसैले राजश्व तिर्ने कसैले नतिरे पनि हुने अवस्था सिर्जना भएको छ । करको दायरा बढाएर राजश्व प्रणालीलाई चुस्त बनाउन आवश्यक छ ।’

कर राजश्व प्रशासनलाई प्रभावकारी बनाउन केन्द्रदेखि स्थानीय तहसम्मै सहकार्य गर्न जरुरी रहेको अध्यक्ष मल्लले बताए । अनुशासित व्यवसाय, पारदर्शी करप्रणाली सम्बन्धमा निजी क्षेत्र सदैव प्रतिवद्ध रहेको अध्यक्ष मल्लको भनाइ छ ।

आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि सरकारसँग हातेमालो गर्न आफूहरु तयार रहेको अध्यक्ष मल्लले बताए । खुद्रा पसल देखि होलसेलसम्मै बिल बिजकको व्यवस्थालाई अनिवार्य रुपमा कार्यन्व्यनमा ल्याउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । अर्थतन्त्रका अधिकांश सूचकहरु अहिले पनि नकारात्मक अवस्थामा नै रहेको भन्दै अध्यक्ष मल्लले चालुखर्च धान्नसमेत मुस्किल राजश्व प्रणालीलाई चुस्त बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?