संकटमा गठबन्धन !

लोकपथ
154
Shares

काठमाडौं । सरकार गठनमा लामो छलफल गर्दा पनि सहमति नजुटेपछि गठबन्धनको भविष्य संकटमा परेको छ ।

गठबन्धनमा आवद्ध दलहरुले आ–आफ्नो दाबी नछोड्दा गठबन्धनको भविष्य संकटमा परेको हो ।

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमा गठबन्धनका शीर्ष दलहरु कांग्रेस, माओवादी र एकीकृत समाजवादीले भागबण्डा गर्ने तयारी गरिरहेका छन् । सरकार सञ्चालनमा आलोपालो गर्ने भनिए पनि पहिलो कार्यकाल कसले गर्ने भनेर सहमति जुट्न सकेको छैन ।

नेपाली कांग्रेसले राष्ट्रपतिसहित प्रधानमन्त्रीमा पहिलो कार्यकाल आफूले नेतृत्व गर्ने दाबी गरिरहेको छ । तर यता माओवादीले पनि प्रधानमन्त्रीको पहिलो कार्यकाल आफूहरुले चलाउनु पर्ने दाबी गर्दै आइरहेको छ । जसको कारण आज बसेको गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ ।

आज बसेको बैठकमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुख मध्ये एक एक पद हुनुपर्ने माओवादी र एकीकृत समाजवादीले माग राखेको थियो । तर कांग्रेसले भने राष्ट्रपति र प्रधानमन्त्रीको पहिलो कार्यकाल आफूहरुले नेतृत्व गर्ने दाबी गर्दै आइरहेको छ ।

दलहरुले आ–आफ्नो दाबी नछाड्दा गठबन्धनभित्र संकट पैदा भएको हो । आज बसेको बैठकमा सहमति नजुटेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् ।

यसअघि गठबन्धनमा सहमति नभएमा एमालेसँग मिलेर सरकार बनाउने घुर्की माओवादीले देखाइरहेको कारण प्रचण्डको बालकोट यात्रालाई अर्थपूर्ण हेरिएको छ ।

यता नेपाली कांग्रेसले पनि भित्रि रुपमा एमालेसँगको छलफललाई तीव्रता दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?