माओवादीको ‘बटमलाइन’ प्रधानमन्त्री, नपाए प्रतिपक्षमै बस्ने

लोकपथ
21
Shares

काठमाडौं । नयाँ सरकार गठनबारे सत्तारुढ प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच निर्णायक छलफल जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  निर्णायक छलफलमा जुटेका हुन् ।

दुई शीर्ष नेताबीचको छलफलपछि आजै गठबन्धनमा छलफल गर्ने तयारी छ । पाँचदलीय सत्ता गठबन्धन दलहरूले आफ्नै नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरी विभिन्न प्रयासमा छन् । त्यसका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चालगायत दलका शीर्षनेताहरूले द्विपक्षीय, बहुपक्षीयरूपमा छलफल जारी राखेका छन् ।

छलफल जारी रहँदा नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री नपाए गठबन्धन छाड्ने निष्कर्ष निकालेको छ । आइतबार बिहान खुमलटारमा बसेको बैठकले कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुबै नदिए गठबन्धन छाड्ने निष्कर्ष निकालेको हो । गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गर्नका लागि पहल गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीमा प्रचण्डले दाबी नछाडेपछि बिहान देउवाको सन्देश लिएर खुमलटार पुगेका कांग्रेस नेता विमलेन्द्र निधिले राष्ट्रपति र प्रधानमन्त्री नछाड्ने बताएका थिए । निधिको सन्देशपछि प्रचण्ड निर्णायक वार्ताका लागि बालुवाटार पुगेका हुन् । निधिले शनिबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर फर्किएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेको एक साताको समय आज सकिँदै छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ गते एक साताको समय निर्धारण गरी आह्वान गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?