सातवटै प्रदेशका सांसदलाई शपथ खुवाउने यी हुन् ज्येष्ठ सदस्य

काठमाडौं । सातवटै प्रदेश सभामा नवनिर्वाचित सांसदलाई पद तथा गोपनियताको शपथको तयारी थालिएको छ । सांसदहरुको शपथका लागि प्रदेशसभा संसद् सचिवालयका कर्मचारी तयारीमा जुटेका हुन् ।

प्रदेशसभाका ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले शपथ गराएपछि अरू सांसदलाई ती ज्येष्ठ सदस्यले शपथ गराउने व्यवस्था छ । तर, केही प्रदेशमा भने सबै प्रदेश सांसदलाई एकैपटक शपथ खुवाउने तयारी गरिएको प्रदेश अन्तर्गतका संसद् सचिवालयले जनाएका छन् । प्रदेश प्रमुखलाई अन्तिम निर्वाचन परिणाम बुझाएको २० दिनभित्र प्रदेश प्रमुखले प्रदेश सभाको बैठक बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

पद तथा गोपनियताको शपथ गरेपछि बैठकको मिति तय गर्ने तयारी रहेको प्रदेशसभा संसद् सचिवालयले जनाएका छन् । यसअघि निर्वाचन आयोगले ४ मंसिरमा भएको प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन सातवटै प्रदेशका प्रदेश प्रमुखलाई बुझाएको थियो ।

गत २ पुसमा आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरू, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशको राजधानीमा प्रदेश प्रमुखको कार्यालयमा अलग–अलग रूपमा प्रतिवेदन बुझाएका थिए । प्रदेश सभामा प्रत्यक्षतर्फ ३३० र समानुपातिकबाट २२० गरी ५५० जना सांसद निर्वाचित भएका छन् ।

सुदूरपश्चिममा रावलले खुवाउनेछन् शपथ

सुदूरपश्चिम प्रदेश सभामा नवनिर्वाचित ५३ सदस्यीय सांसदको शपथ यही पुस १५ गते हुने भएको छ । प्रदेश सभाका ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावललाई प्रदेश प्रमुख देवराज जोशीले शपथ गराउनेछन् । सोही दिन रावलले अरु ५२ जना प्रदेशसभा सदस्यलाई पद तथा गोपनियताको शपथ गराउने भएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट अछाम क्षेत्र नम्बर २ को (२) बाट प्रदेशसभा सदस्यमा रावल निर्वाचित भएका थिए । प्रदेशसभा सचिवालयले सोही दिन नवनिर्वाचित प्रदेशसभा सदस्यको स्वागतमा चियापान कार्यक्रमसमेत आयोजना गरेको प्रदेशसभा संसद सचिवालयका सचिव देवबहादुर बोगटीले बताए ।

‘पद तथा गोपनियताको शपथ ग्रहणपछि सचिवालय परिसरमै नवनिर्वाचित माननीय ज्यूहरुको स्वागत तथा चियापान कार्यक्रम गर्ने पनि हाम्रो तयारी छ,’ सचिव बोगटीले भने । सुदूरपश्चिम प्रदेशमा ५३ सांसद छन् ।

यहाँ नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का ११ र नेकपा (एमाले) का १० जना निर्वाचित भएका थिए । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका ७ र नेकपा (एकीकृत समाजवादी) का ४ जना सांसद छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रले एक–एक सिट जितेको थियो ।

कर्णालीमा शाहले शपथ खुवाउने

कर्णाली प्रदेश सभाका सांसदहरुलाई प्रदेश सभाका ज्येष्ठ सदस्य ६६ वर्षीय सांसद विनोदकुमार शाहले शपथ खुवाउने तयारी गरिएको छ । प्रदेश सभाका ज्येष्ठ सदस्य शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराउनेछन् ।

प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाक्षेत्रीका अनुसार यहाँ पुस ११ गते बिहान ११ बजे प्रदेश प्रमुखको कार्यालयमा ज्येष्ठ सदस्य शाहले शपथ लिनेछन् । शाहको शपथपछि सोही दिन दिउँसो ३ बजे प्रदेश सभामा अरु सांसदको शपथ हुनेछ । ज्येष्ठ सदस्य शाह नेकपा (एमाले) का तर्फबाट दैलेख क्षेत्र नम्बर २ को (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

कर्णाली प्रदेशमा ४० जना सांसद् छन् । जसमध्ये नेपाली कांग्रेसका १४ जना र नेकपा (माओवादी केन्द्र) का १३ जना सांसद् छन् । यस्तै नेकपा (एमाले) बाट १० जना निर्वाचित भएका छन् भने समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रले समान एक–एक सिट जितेका छन् ।

गण्डकीमा बस्यालले शपथ खुवाउने

गण्डकी प्रदेश सभामा सांसदको शपथको तयारी गरिएको छ । प्रदेशमा नवनिर्वाचित सांसदलाई यही पुस १३ र १४ गते दुई दिन शपथ ग्रहणको मिति तोकिएको छ । प्रदेश सभाका उपसचिव प्रेम सुवेदीकाअनुसार ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुख पृथ्बीमान गुरुङबाट शपथ लिने भएका छन् ।

६५ वर्षीय बस्याल नेकपा (एमाले) का तर्फबाट पर्वत क्षेत्र नम्बर १ को (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । सोही दिन सांसदको लोगो वितरण तथा चियापान कार्यक्रमसमेत राखिएको उपसचिव सुवेदीले बताए ।

गण्डकी प्रदेश सभामा कुल ६० जना सांसद् छन् । यहाँ नेपाली कांग्रेसबाट २७, नेकपा (माओवादी केन्द्र) का ७ र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट १ जना सांसद निर्वाचित भएका छन् । त्यस्तै, नेकपा (एमाले) का २२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र स्वतन्त्र एक जना सांसद छन् ।

बागमतीमा ढुंगानाले शपथ गराउने 

बागमती प्रदेश सभामा सांसदको शपथ यही पुस १३ र १४ गते हुने भएको छ । दुई दिन शपथ ग्रहणको मिति तोकिएको प्रदेश संसद् सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । शनिबार सांसदको शपथका लागि सूचना जारी गरिएको सचिव खड्काको भनाइ छ ।

प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले शपथ गराउने उनले बताए । ७२ वर्षीय ढुंगानाले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएपछि अरु सदस्यलाई पुस १४ गते प्रदेश सभामा शपथको तय गरिएको उनले बताए । ढुंगाना नेकपा (माओवादी केन्द्र) का तर्फबाट नुवाकोट क्षेत्र नम्बर २ को (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

सबैको सहमतिमै मिति तय गरिएकाले सबै सांसदको शपथ ग्रहणमा उपस्थिति रहनेमा आफू विश्वस्त रहेको उनले बताए । बागमती प्रदेश सभामा कुल ११० जना सांसद निर्वाचित भएका छन् ।

जसमध्ये नेपाली कांग्रेसका ३७, नेकपा (माओवादी केन्द्र) का २१ र नेकपा (एकीकृत समाजवादी) का ७ जना सांसदले जितेका छन् । यस्तै, नेकपा (एमाले) बाट २७, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीले २ जना सांसद छन् ।

प्रदेश १ मा मण्डलले शपथ खुवाउने 

प्रदेश नं.१ मा प्रदेश सभाका सांसदको सपथ ग्रहण पुस ११ गते बिहान साढे १२ बजे गराउने प्रदेश संसद सचिवालयका उपसचिव चन्द्रमणी पोखरेलले जानकारी दिए । प्रदेश सभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईले शपथ गराउने छन् ।

ज्येष्ठ सदस्य गनगाईलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउनेछन् । सोही दिन दिउँसो साढे १ बजे प्रदेश सभामा अरु सदस्यलाई ज्येष्ठ सदस्य गनगाईले शपथ गराउने पोखरेलले बताए । नेपाली कांग्रेसका तर्फबाट मोरङ क्षेत्र नम्बर ५ को (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रदेश नं. १ को प्रदेश सभामा ९३ सदस्यीय सासंद् निर्वाचित भएका छन् । जसमा नेकपा (एमाले) का ४०, नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३ र राष्ट्रिय प्रजातन्त्र पाटीका ६ जना सांसद विजयी भएका छन् । यस्तै, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीबाट १ जना सांसद् छन् ।

मधेश प्रदेशमा कलवारले शपथ गराउने

मधेश प्रदेशसभाका नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य शारदा शङ्करप्रसाद कलवारले शपथ गराउने भएका छन् । संसद् सचिवालयका सचिव रञ्जित यादवले ऐन, कानुन र संवैधानिक व्यवस्थाअनुसार कलवारले प्रदेशसभाको ज्येष्ठ सदस्यको हैसियतले नवनिर्वाचित सांसदलाई शपथ गराउने कार्यक्रम तय गरिएको बताए ।

सचिव यादवकाअनुसार प्रदेश प्रमुख हरिशङ्कर मिश्रले ज्येष्ठ सदस्य कलवारलाई पहिले शपथ गराउने र कलवारले अन्य प्रदेशसभा सदस्यलाई शपथ गराउनेछन् । यद्यपि अहिलेसम्म प्रदेशसभा सदस्यलाई शपथ ग्रहण गराउनेबारे समय निश्चित भइनसकेको बताए । सचिवालयले आगामी आइतबार सर्वदलीय बैठक बोलाएको छ । सो बैठकबाट शपथ ग्रहणको मिति तय हुने बताइएको छ ।

मधेश प्रदेश सभामा १०७ जना सांसद् निर्वाचित भएका छन् । जसमध्ये नेकपा (एमाले) का २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६ र जनमत पार्टीका १३ जना सांसद छन् ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका ९, नेकपा (माओवादी केन्द्र) का ८, नेकपा (एकीकृत समाजवादी) का ७ र स्वतन्त्र सांसद ६ जना निर्वाचित छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक–एक जना सांसद् छन् ।

लुम्बिनी प्रदेश प्रमुख शेरचनले शपथ खुवाउने

लुम्बिनी प्रदेशमा प्रदेश सांसदको शपथका लागि अधिवेशन आह्वानको तयारी गरिएको छ । प्रदेश संसद् सचिवालयका सचिव दुर्लभकुमार पुनमगरका अनुसार भौतिक रुपमा सबै तयारी भएको र प्रदेश प्रमुखबाट अधिवेशन आव्हान भएपछि शपथ ग्रहणको सूचना जारी गरिनेछ ।

लुम्बिनी प्रदेशका ज्येष्ठ सदस्य ६९ वर्षीय डिल्लीराज भुषाल हुन् । तर, यस प्रदेशमा प्रदेश सभाका सबै सांसदले प्रदेश प्रमुख अमिक शेरचनबाट नै शपथ लिने सचिवालयका सचिव पुनमगरले बताए । यही पुस १४ देखि १६ गतेको बीचमा अधिवेशनको मिति तय गरिने उनले बताए ।

‘प्रदेश प्रमुखबाट अधिवेशन आह्वानको पत्र प्राप्त भएलगत्तै शपथ ग्रहणको अन्य प्रक्रिया अघि बढ्नेछ’ उनले भने । लुम्बिनी प्रदेशमा सबै सांसदको एकैदिन एकैपटक प्रदेश प्रमुखबाट शपथ खुवाउने पुनमगरले बताए । प्रदेश सभा सञ्चालन नियमावली अनुसार नै सांसदलाई एकैसाथ शपथ खुवाउन लागिएको उनको भनाइ छ ।

लुम्बिनी प्रदेश सभामा ८७ जना सांसद् छन् । यहाँ नेकपा (एमाले) २९, नेपाली कांग्रेस २७, नेकपा (माओवादी केन्द्र) ९, राष्ट्रिय प्रजातन्त्र पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ४ र नेकपा (एकीकृत समाजवादी) ३ सांसद निर्वाचित भएका छन् ।

त्यस्तै, जनमत पार्टीका ३, स्वतन्त्र ३, जनता समाजवादी पार्टीका ३ र राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीका एक–एक जना सांसद् निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?