पाँच वर्षमा तीन जना प्रधानमन्त्री बन्ने गरी सत्ता गठबन्धनमा सहमति

लोकपथ
585
Shares

काठमाडौं । नयाँ सरकार गठनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री को भन्ने बिषयमा सहमति जुटाउन बसेको बैठक सत्तारुढ गठबन्धनका तीन शीर्ष नेता आलोपालोमा प्रधानमन्त्री हुने गरी सहमतिमा आएका हुन् ।

तर पहिलो चरणमा शेरबहादुर देउवा कि पुष्पकमल दाहाल प्रचण्ड भन्ने टुंगिएको छैन । नेताहरुका अनुसार आइतवार बिहान बस्ने बैठकले समग्र शक्ति बाँडफाँटबारे सहमति जुटाउनेछ र राष्ट्रपतिले दिएको समयसीमाभित्रै नयाँ सरकार गठनका लागि दाबी गरिने छ ।

संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपतिले दिएको ७ दिनको समयसीमा आइतबार अपरान्ह ५ बजे सकिने छ ।

त्यसको अघिल्लो दिन प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुको बैठकमा शक्ति बाँडफाँटबारे खुलेर कुराकानी भएको छ ।

प्रधानमन्त्रीमा २–२–१ वर्षको पालो गर्ने पनि सहमति जुटेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले समान २ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुनेछन् । सुरुमा को प्रधानमन्त्री हुने भन्नेमा देउवा र प्रचण्डको दाबी भने कायमै छ ।

यस्तै, सरकारका प्रवक्ता एवम् कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले पनि भोलि सबै विषय टुंगिने दाबी गरेका छन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्कीले भने, ‘भोलिसम्म तपाईं धैर्य गर्नुस् यसमा हलो अड्किन्न, प्रधानमन्त्री को पहिले हुने भन्ने कुरा गौण कुरा हो, मुलुकलाई अहिलेको जनताको आकांक्षा अनुसार कसरी अगाडि बढाउने कुरा महत्वपूर्ण कुरा हो, गठबन्धनकै नेतृत्वमा सरकार निर्माण हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?