भक्तपुरमा विज्ञान प्रदर्शनी सम्पन्न

लोकपथ
39
Shares

काठमाडौं । विद्यालय तहका विद्यार्थीहरूलाई विभिन्न वैज्ञानिक उपकरण निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले भक्तपुरमा आयोजना गरिएको एकदिने विज्ञान प्रदर्शनी सम्पन्न भएको छ ।

सूर्यविनायक नगरपालिकाले आज आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय विज्ञान प्रदर्शनीमा रकेट केबुलकार बनाउने सूर्यविनायक नगरपालिका–७ किवाचोकस्थित ज्योति माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्दै नगदसहितको पुरस्कार हात पारेको छ ।

विज्ञान प्रदर्शनीमा सूर्यविनायक नगरपालिका–१० चित्तपोलको जोरपाटी माध्यमिक विद्यालय दोस्रो र रकेट बनाउने सूर्यविनायक नगरपालिका–१ बिरुवास्थित कुलमाया भगवती माध्यमिक विद्यालय तेस्रो भएको थियो । प्रदर्शनीमा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित मनोरम इङ्गलिस बोर्डिङ स्कुल सान्त्वना पुरस्कार प्राप्त गरेको थियो ।

विज्ञान प्रदर्शनीमा सामुदायिक र संस्थागत विद्यालय गरी नौवटा विद्यालयले सहभागिता जनाएका थिए । कक्षा ९ र १० का विद्यार्थीले बनाएका केबुलकार, रकेट, मन्दिर, पहाड, दूरबिनलगायत विभिन्न सामग्रीलाई अवलोकनमा गएका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीले निकै रुचि दिएर हेरेका थिए ।

प्रदर्शनी समापनसँगै नगरपालिका नगरप्रमुख वासुदेव थापा, नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले विद्यालय एवम् विद्यार्थीहरूलाई पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?