नेपाल टि-२० लिग : काठमाडौं र लुम्बिनीको विजयी शुरुवात

लोकपथ
39
Shares

काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टि—२० लिगमा काठमाडौं नाइट्सले विजयी शुरुवात गरेको छ । शनिवार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा काठमाडौंले पोखरा एभेन्जर्स २६ रनले पराजित गरेको हो । काठमाडौंले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित (१९) ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन मात्रै बनाउन सक्यो ।

पोखराको लागि उपल थरङ्गाले सर्वाधिक ४४ रनको योगदान दिए । यस्तै, अमिर हमाज र अभिमन्यु मिथुनले समान १८ रन बनाए । काठमाडौंका लागि अविनास बोहोराले ३ तथा बसिर अहमदले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो ।

काठमाडौंका लागि अजमातुल्लाह उमरजाईले ८५ रनको अविजित पारी खेले । उनले ४२ बलमा ३ चौका र ७ छक्का प्रहार गरेका थिए । यस्तै, सुनाम गौतम २८ बलमा २७ रन, एलेक्स ब्लेक्सले २१ रन, वीरनदीप सिंहले १० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा पवेलियन फर्किए । यता पोखराको लागि प्रतिस जिसी र जाहिर खान समान २ विकेट लिए । यस्तै, मौसम ढकालले १ विकेट हात पारे ।

त्यस्तै, आज नै कीर्तिपुर मैदानमै भएको दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले फर वेस्ट युनाइटेडलाई ६७ रनले पराजित गरेको छ । लुम्बिनीको जितमा लाहिरु मिलान्थाले सर्वाधिक ६० रनको योगदान गरे । उनले ८ चौका र १ छक्का प्रहार गरे । त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३५, गुलशान झा २५ र विपुल शर्माले १२ रन बनाए । अन्य खेलाडीले भने दोहोर रन जोड्न सकेनन् । फार वेस्टर्नका लागि उमर अलि र करण केसीले समान ३ विकेट लिए ।

त्यस्तै, बलिङतर्फ लुम्बिनीका दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । उनले २ दशमलव २ ओभरमा ६ रन मात्र खर्चिएर ३ विकेट लिन सफल भएका छन् । त्यस्तै सागर ढकालले २, पेट ब्रोन, किशोर महतो, गुलशान झा र विपुल शर्माले समान १ विकेट लिए । यता फर वेस्ट युनाइटेडले भने १६ दशमलव २ ओभरमा मात्र ८५ रन बनाउन सक्यो ।

फार वेस्टर्नको तर्फबाट हसमतउल्लाह साहिदीले ३५ रन र विनोद भण्डारीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो रन जोड्न सकेनन् । पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागीता छ । प्रतियोगिताको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख पाउनेछ । तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?