गण्डकी कांग्रेसमा दलको नेता छान्न समिति गठन

लोकपथ
65
Shares

पोखरा । नेपाली कांग्रेसले गण्डकीमा संसदीय दलको नेता पुस १२ गते चयन गर्ने भएको छ । कांग्रेस गण्डकीको पदाधिकारी बैठकले दलको नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ । संसदीय दलको नेता छान्न महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा सहमहामन्त्री रमेश पाण्डे र कोपिला रानाभाट सदस्य छन् ।

कानुनी सहजीकरणका लागि डीएलएका प्रदेश अध्यक्ष फडिन्द्र कोइराला र जिल्ला अध्यक्ष कपिलमणि दाहाल चुनिएका छन् । त्यसअघि सर्वसम्मत नेता चयनका लागि प्रदेश सभापति शुक्रराज शर्माको संयोजकत्वमा सहजीकरण समिति गठन भएको छ । समितिमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्री किरणबाबु श्रेष्ठ र सहमहामन्त्री रामचन्द्र जोशी सदस्य छन् ।

सुरुमा सल्लाहमै नेतृत्व चयन गर्ने र नभए निर्वाचनमा जाने महामन्त्री लामिछानेले बताए । उनका अनुसार निर्वाचन प्रक्रिया शुक्रबार देखि नै सुरु भएको छ । यहाँ संस्थापन पक्षबाट केन्द्रीय सदस्य समेत रहेका सांसद सुरेन्द्र पाण्डेलाई प्रमुख दाबेदार ठानिएको छ । यद्यपि सोही समूहबाट कास्कीका विन्दुकुमार थापा पनि दाबेदार छन् ।

संस्थापन इतरबाट भोजराज अर्याल प्रमुख दाबेदार हुन् । अर्का नेता महेन्द्रध्वज जिसीको पनि दाबी छ । यद्यपि निर्वाचनमै गए दुई जना मात्रै प्रतिस्पर्धी हुने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?