बिकिनी किलर चार्ल्स शोभराजकाे अपराधका चाङ (भिडियाेसहित)

अपराधका नाइके मानिने फ्रान्सेली नागरिक चार्ल्स शोभराजको रिहाइको खबरले नेपालसहित संसारभर तरंग मच्चिएको छ । एकपछि अर्को हत्या गर्दै संसारको सुरक्षा आँखाबाट लुक्दै नेपाल आइपुगेका उनी दुई दशकदेखि नेपालको कारागारमा बन्द थिए ।

उनको रिहाईको समाचारलाई विश्वका विभिन्न चर्चित सञ्चारमाध्यमले प्राथमिकतामा राखेर प्रकाशन तथा प्रशारण गरेका छन् । नराखुन पनि किन ? उनले गरेको हत्या आरोपका चाङले यो कुराको पुष्टि गर्छ ।

नेपाल सरकारले कुख्यात अपराधी चार्ल्स शोभराजलाई नेपालबाट निकाला गरेको छ । गृह मन्त्रालयले दश वर्षसम्म नेपाल आउन नपाउने गरी शोभराजलाई निष्कासन गरेको हो ।

अध्यागमन विभागको प्रस्तावमा गृहसचिव विनोदप्रकाश सिंहले निष्कासनसम्बन्धी निर्णय गरेका हुन् । यो निर्णयसँगै शोभराज अब विसं २०८९ सम्म नेपाल आउन पाउने छैनन् । निष्कासनको निर्णयसँगै उनलाई फ्रान्स पठाइँदै छ ।

त्यसका लागि नेपालस्थित फ्रान्सेली दूतावासका अधिकारी र शोभराजका कानुन व्यवसायीसँग अध्यागमन विभागका अधिकारीले समन्वय गरेका थिए । त्यसपछि अध्यागमनले निष्कासनका लागि शोभराजका नाममा ट्राभल डकुमेन्ट तयार गरेको छ । अध्यागमनसम्बन्धी कसूरमा अध्यागमन विभागले उनलाई ५० हजार रुपैयाँ जरिवाना पनि तिराएको छ ।

नेपालमा १९ वर्षदेखि कारागारमा रहेका बिकिनी किलर, सिरिअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिने चाल्र्स शोभराजमाथि सिनेमादेखि सिरज नै बनेका छन् । नेटफ्लिक्सले द सर्पेन्ट नाममा बनाएको सिरिजले उनको कुख्याती झनै बढेको थियो ।

सर्वोच्च अदालतले शोभराजलाई तत्काल रिहा गर्न र उनकै देशमा फिर्ता पठाउन बुधबार आदेश दिएको थियो ।सर्वोच्चको आदेशसँगै उनी ९५ प्रतिशत कैद सजायँ भुक्तान गरेर रिहा भएका हुन् ।

सर्वोच्च अदालतले किन दियो शोभराजलाई तत्काल रिहा गर्न आदेश

सर्वोच्च अदालतले शोभराजलाई रिहा गर्न दिएको आदेशमा “निरन्तर कैदमा राख्नु कैदीबन्दीको मानव अधिकार मापदण्ड र संविधान, कानुन प्रदत्त अधिकार अनुकूल नदेखिएको” भनिएको छ ।
आदेशमा “अन्य मुद्दामा थुनामा राख्नुपर्ने नभए निजलाई आजै कैदबाट छाडिदिन तथा यो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन,” भनिएको छ ।

कारागार नियमावली, २०२० का अनुसार ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली कैदीलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था छ । नेपाली नागरिकलाई जस्तै विदेशी नागरिकको हकमा पनि उक्त व्यवस्था कार्यान्वयन हुनुपर्ने भन्दै शोभराजले कैदमुक्तिको मागसहित पटक पटक निवेदन दिएका थिए ।

उनले आफ्नो रिहाईका लागि राष्ट्रपति विद्या भण्डारीसम्मलाई गुहारेका थिए । फ्रेन्च वकिलमार्फत् उनले आफूलाई रिहा गरिदिन डेढ वर्षअघि पत्र लेखेका थिए ।

निवेदकको उमेर ७४ वर्ष भइसकेको तथ्यमा विवाद नरहेको, निज मुटुसम्बन्धी रोगबाट पीडित भई नियमित उपचारको अवस्थामा रहेको र निजलाई तोकिएको कैदमध्ये करिब ७५ प्रतिशत कैद भुक्तान भइसकेको देखिँदा निजका सम्बन्धमा मानवोचित र विवेकपूर्ण निर्णय तत्काल हुनु वाञ्छनीय देखियो, आदेशमा भनिएको छ ।

सन् २००३ मा काठमाडौंमा पक्राउ परेका उनलाई, सन् १९७५ मा दुई विदेशी पर्यटकको हत्या गरेको अभियोगमा दोषी ठहर गरी सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो । सन् २००९ मा पाटन पुनरावेदन अदालतले उनलाई जाली राहदानी प्रयोग गरेको छुट्टै अभियोगमा दोषी ठहर गर्दै एक वर्षको कैद सुनाएको थियो ।

को हुन बिकिनी किलर शोभराज ?

७८ वर्षीय बिकिनी किलर शोभराज फ्रान्सेली नागरिक हुन् । उनका बुबा भारतका हुन् भने आमा भियतनामी हुन् । उनी भारतमा २१ वर्ष कारागारमा बसेका थिए ।

फ्रान्सका पर्यटकलाई विष दिएको अभियोगमा दोषी ठहर भएपछि सन् १९७६ मा शोभराजलाई भारतमा २१ वर्षको जेल सजाय सुनाइएको थियो । तर, जेलमा १० वर्ष बसेपछि उनी १९८६ मा दिल्लीस्थित तिहाड जेलबाट भागेका थिए ।
७८ वर्षीय शोभराजले ४० वर्ष अर्थात् आफ्नो जीवनको आधाभन्दा बढी समय जेलमा बिताएका छन् । चार दशकअघि शोभराजले नेपालमा अमेरिका र क्यानडाका दुई महिलाको हत्या गरेको अभियोगमा उनी दोषी ठहर भएका थिए ।

८ देशका प्रहरी कुरिरहेका थिए

कुनै बेला शोभराजलाई पक्राउ गर्न भारत, नेपाल, म्यानमार, थाइल्याण्ड, फ्रान्स, इरान, ग्रीस, टर्कीलगायत ८ देशका प्रहरी पर्खिरहेका थिए । तर उनले भारत र नेपालको जेलमा आफ्नो जीवनको अधिकांश समय बिताए ।

शोभराजको अपराधका चाङ

शोभराजलाई हालसम्म २० जनाभन्दा बढी मानिसको हत्या गरेको अभियोग रहेको छ । भारत, थाइल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा भएका विभिन्न हत्यामा शोभराजको संलग्नता भएको आरोप छ ।
यी घटना सन् १९७२ देखि १९८२ सम्म भएका थिए । तर सन् २००४ सम्ममा ती आरोपहरू पुष्टि हुन नसकेको बताइन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?