प्रधानमन्त्री नपाए गठबन्धन छाड्ने प्रचण्डको धम्की

लोकपथ
52
Shares

काठमाडौं । नयाँ बन्ने सरकारमा पहिलो चरणमा प्रधानमन्त्री नपाए गठबन्धन तोड्ने धम्की नेकपा माओवादी केन्द्रका अध्यक्षले दिएका छन् ।
नयाँ बन्ने सरकारमा आफैंले प्रधानमन्त्री बन्न पाउनुपर्ने अडानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् ।

प्रचण्डले आफ्नो ‘बटमलाइन’ नै प्रधानमन्त्री भएको देउवासँगको बिहीबारको भेटमा नै प्रष्ट गरिसकेको माओवादी नेताहरु बताउँछन् । बिहीबार बेलुकी प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच बालुवाटारमा छलफल भएको थियो । माधव नेपाल पनि पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री दिए हुन्छ भन्ने पक्षमा रहेकाले उनलाई बल मिलेको बताइन्छ ।

यसक्रममा आज देउवाको दूत बनेर पुगेका कांग्रेस नेता प्रकाशमान सिंहलाई पनि प्रचण्डले आफूले पहिलो चरणमा प्रधानमन्त्री नपाए गठबन्धन छाड्ने धम्की दिएका हुन् । प्रचण्डले पहिलो चरणमा प्रधानमन्त्री नलिइ नछाड्ने देखेपछि एकपछि अर्को गर्दै कांग्रेस नेताहरु उनलाई फकाउन पुगिरहेका हुन् ।

शुक्रबार बिहानै प्रचण्ड निवास खुमलटार पुगेका कांग्रेस नेता सिंहले शेरबहादुर देउवालाई पहिलो चरणमा प्रधानमन्त्री मान्न र अरु राजकीय पदमा भागबण्डा गर्न आग्रह गरेका थिए । जवाफमा प्रचण्डले यो गठबन्धनबाट प्रधानमन्त्री बन्न नपाए विकल्प सोचिने बताएको खुमलटारनिकट स्रोतले जनाएको हो ।

सिंहले भने प्रतिनिधि सभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल रहेकाले देउवाकै नेतृत्वमा सरकार बनाउँदा प्राकृतिक हुने तर्क गरेका थिए । पहिलो चरणमा प्रधानमन्त्री बन्न नपाए दुई वर्षपछि के हुने हो भन्नेमा देउवा र दाहाल दुबै नेता सशंकित रहेका कारण पनि प्रधानमन्त्री को बन्ने भन्ने टुंगिन सकेकाे छैन ।

राष्ट्रपति विद्या भण्डारीले सरकार बनाउन दलहरुलाई दिएको सात दिनको समय आउने आइतबार सकिँदैछ । त्यसैले पनि गठबन्धनमा दबाब बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?