काठमाडौं । कानूनको नजरमा विभिन्न अपराधमा मुछिएका अभियुक्तहरुले खुलेआम विधायकी थलो संसदमा पुगेर शपथ लिए । यो उनीहरुले हाम्रो कानूनी संयन्त्र र प्रहरी प्रशासनलाई दिएको खुलेआम चुनौती थियो । यसरी शपथ लिनेमा व्यक्ति हत्या अभियोगमा ‘फरार अभियुक्त’ नेकपा एमालेबाट महोत्तरीबाट सांसद बनेका लक्ष्मी महतो कोइरी हुन् भने भ्रष्टाचार मुद्दामा अभियोग खेपिरेहका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ हुन् ।
देशको ठूला भनिएका दल कांग्रेस एमालेको टिकटबाट निर्वाचित उनीहरुलाई दलहरुले त प्रोत्साहित गरे गरे, कानून पालनाको दायित्व रहेको संघीय संसद सचिवालयले पनि बेवास्ता गरिदियो । चुनावमा जित्छ भनेकै आधारमा फौजदारी अभियोग लागेकाहरुलाई टिकट दिन दल तथा सामान्य विवेकसम्म प्रयोग नगरी शपथ गराउने दुबै दोषी देखिएका छन् । मूलगेटमै रोकिनुपर्ने फौजदारी अभियोगीहरुलाई शपथ दिलाउनु दण्डहीनताको पराकाष्ठा भएको मानवअधिकारकर्मीहरु बताउँछन् ।
महोत्तरी–१ बाट निर्वाचित एमाले सांसद कोइरीमाथि मधेश आन्दोलनका क्रममा प्रहरी सहायक निरीक्षक थमन विक हत्याको आरोप छ । उनी प्रहरी प्रशासनको नजरमा ‘फरार अभियुक्त’ हुन् । अदालतले आदेश दिँदा पनि प्रहरीसमक्ष नजाने उनी नसमात्ने प्रहरीको खेलमा उनलाई ‘फरार अभियुक्त’ को ट्याग भने लगाइएको छ । उता, मनाङबाट निर्वाचित नेपाली कांग्रेसका गुरुङविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचारको मुद्दा विचाराधीन छ । जबकी संविधानअनुसार फौजदारी अभियोग लागेका कोही पनि व्यक्तिलाई उम्मेदवार नै बनाउन पाइदैन । तर यहाँ दलहरुले उम्मेदवार बनाएको मात्र होइन, जितेर आएका उनको संसद सचिवालयले शपथ नै गराएको छ ।
गेटबाटै समातेर कठघरामा लैजानुपर्नेलाई शपथ दिलाएर संविधान, कानून र न्यायालयसमेतको अवहेलना गरिएको पूर्वसचिव एवं ट्रान्सपरेन्सी इन्टरनशनलका पूर्वअध्यक्ष खेमराज रेग्मीले बताए । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई उन्मुक्ति दिने चिठी लेखेर आलोच्य भएका संसद सचिवालयका महासचिवले यस विषयमा लाचारी देखाएको उनले बताए । आफूले गरेको गल्तीको ढाकछोपमा लाग्दा अपराधमा दोषी भएकाहरुले समेत शपथ लिन पाएको भन्दै रेग्मीले प्रहरी प्रशासन पनि मूकदर्शक बनेको बताए ।
राजनीतिक अन्यौल नराख्न चाँडै शपथ गराउनु संसद सचिवालयको राम्रो काम भए पनि गेटमै रोक्नुपर्ने अपराधमा संलग्नहरुलाई सम्मानित सभामा प्रवेश दिनु गलत भएको उनले बताए । एकातिर अभियुक्तहरुलाई शपथ गराउने संसद सचिवलायले अर्कातिर मुख्मन्त्री र मन्त्रीमा रहिरहेकाहरुलाई सांसदको शपथ दिलायनु अर्को कानूनी अराजकता भएको टिप्पणी पनि रेग्मीले गरे ।
वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको शपथका सम्बन्धमा संसद सचिवालय र पाण्डेमाथि छानबीन गरिनुपर्ने उनको भनाइ थियो ।
जसपामा टिकट नपाएपछि मनोनयनको केही दिनअघि मात्र नेकपा एमाले प्रवेश गरेर महोत्तरी–१ बाट निर्वाचित लक्ष्मी महतो कोइरीमाथि मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा घाइते भएका सशस्त्र प्रहरीका असई थमन विकलाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग लागेको छ । भागेर हिडरहेका उनले मनोनयन पत्र दर्तादेखि निर्वाचित भएको प्रमाण पत्रसमेत वारेस मार्फत बुझेका थिए ।
सांसद गुरुङमाथि भने समाज कल्याण परिषदको स्वामित्वमा रहेको भृकुटीमण्डपको जग्गा भाडामा अनियमितता गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
संघीय संसद सचिवालयका अधिकारी भने आफूहरुमाथि कसैले उजुरी नगर्दासम्म कसैलाई पनि रोक्न नसक्ने बताउँछन् । मानवअधिकारवादीहरु यो राजनीतिक विकृति मात्र नभई कानून हातमा लिने र दण्डहीनता मच्चाउने खेल भएको बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया