कुख्यात अपराधी शोभराजको रिहाइले मच्चाएको सनसनी

शोभराजको अपराधका चाङ !

अपराधका नाइके मानिने फ्रान्सेली नागरिक चाल्र्स शोभराजको रिहाइको खबरले नेपालसहित संसारभर तरंग मच्चिएको छ । एकपछि अर्को हत्या गर्दै संसारको सुरक्षा आँखाबाट लुक्दै नेपाल आइपुगेका उनी दुई दशकदेखि नेपालको कारागारमा बन्द थिए ।

उनको रिहाईको समाचारलाई विश्वका विभिन्न चर्चित सञ्चारमाध्यमले प्राथमिकतामा राखेर प्रकाशन तथा प्रशारण गरेका छन् । नराखुन पनि किन ? उनले गरेको हत्या आरोपका चाङले यो कुराको पुष्टि गर्छ ।

नेपालमा १९ वर्षदेखि कारागारमा रहेका बिकिनी किलर, सिरिअल किलर र द सर्पेन्ट आदि विभिन्न उपनामले चिनिने चाल्र्स शोभराजमाथि सिनेमादेखि सिरज नै बनेका छन् । नेटफ्लिक्सले द सर्पेन्ट नाममा बनाएको सिरिजले उनको कुख्याती झनै बढेको थियो । सर्वोच्च अदालतले शोभराजलाई तत्काल रिहा गर्न र उनकै देशमा फिर्ता पठाउन बुधबार आदेश दिएको थियो । सर्वोच्चको आदेशसँगै उनी ९५ प्रतिशत कैद सजायँ भुक्तान गरेर रिहा हुने भएका हुन् ।

यद्यपि, उनलाई फेरि नेपाल आउन नपाउने गरी उनकै देश फ्रान्स पठाउने तयारी गरिएको छ । अध्यागमन विभागका अधिकारीहरुले त्यसको तयारी अघि बढाएको बताएका छन् । केन्द्रीय कारागारमा रहेका उनलाई आज कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाउने तयारी छ । उनलाई केन्द्रीय कारागारबाट बिहिबार नै अध्यागमन विभागको जिम्म लगाउने तयारी थियो । तर, उनी रिहा हुन पानेनन् र हिजो बिहिबार केन्द्रीय कारागारमै पाहुनाका रुपमा बसे ।

सर्वोच्च अदालतले किन दियो शोभराजलाई तत्काल रिहा गर्न आदेश ?

सर्वोच्च अदालतले शोभराजलाई रिहा गर्न दिएको आदेशमा “निरन्तर कैदमा राख्नु कैदीबन्दीको मानव अधिकार मापदण्ड र संविधान, कानुन प्रदत्त अधिकार अनुकूल नदेखिएको” भनिएको छ । आदेशमा “अन्य मुद्दामा थुनामा राख्नुपर्ने नभए निजलाई आजै कैदबाट छाडिदिन तथा यो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन,” भनिएको छ ।

कारागार नियमावली, २०२० का अनुसार ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली कैदीलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गर्न सकिने कानुनी व्यवस्था छ । नेपाली नागरिकलाई जस्तै विदेशी नागरिकको हकमा पनि उक्त व्यवस्था कार्यान्वयन हुनुपर्ने भन्दै शोभराजले कैदमुक्तिको मागसहित पटक पटक निवेदन दिएका थिए ।

उनले आफ्नो रिहाईका लागि राष्ट्रपति विद्या भण्डारीसम्मलाई गुहारेका थिए । फ्रेन्च वकिलमार्फत् उनले आफूलाई रिहा गरिदिन डेढ वर्षअघि पत्र लेखेका थिए ।

निवेदकको उमेर ७४ वर्ष भइसकेको तथ्यमा विवाद नरहेको, निज मुटुसम्बन्धी रोगबाट पीडित भई नियमित उपचारको अवस्थामा रहेको र निजलाई तोकिएको कैदमध्ये करिब ७५ प्रतिशत कैद भुक्तान भइसकेको देखिँदा निजका सम्बन्धमा मानवोचित र विवेकपूर्ण निर्णय तत्काल हुनु वाञ्छनीय देखियो, आदेशमा भनिएको छ ।

सन् २००३ मा काठमाडौंमा पक्राउ परेका उनलाई, सन् १९७५ मा दुई विदेशी पर्यटकको हत्या गरेको अभियोगमा दोषी ठहर गरी सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो । सन् २००९ मा पाटन पुनरावेदन अदालतले उनलाई जाली राहदानी प्रयोग गरेको छुट्टै अभियोगमा दोषी ठहर गर्दै एक वर्षको कैद सुनाएको थियो ।

को हुन बिकिनी किलर शोभराज ?

७८ वर्षीय बिकिनी किलर शोभराज फ्रान्सेली नागरिक हुन् । उनका बुबा भारतका हुन् भने आमा भियतनामी हुन् । उनी भारतमा २१ वर्ष कारागारमा बसेका थिए । फ्रान्सका पर्यटकलाई विष दिएको अभियोगमा दोषी ठहर भएपछि सन् १९७६ मा शोभराजलाई भारतमा २१ वर्षको जेल सजाय सुनाइएको थियो । तर, जेलमा १० वर्ष बसेपछि उनी १९८६ मा दिल्लीस्थित तिहाड जेलबाट भागेका थिए । ७८ वर्षीय शोभराजले ४० वर्ष अर्थात् आफ्नो जीवनको आधाभन्दा बढी समय जेलमा बिताएका छन् । चार दशकअघि शोभराजले नेपालमा अमेरिका र क्यानडाका दुई महिलाको हत्या गरेको अभियोगमा उनी दोषी ठहर भएका थिए ।

८ देशका प्रहरी कुरिरहेका थिए

कुनै बेला शोभराजलाई पक्राउ गर्न भारत, नेपाल, म्यानमार, थाइल्याण्ड, फ्रान्स, इरान, ग्रीस, टर्कीलगायत ८ देशका प्रहरी पर्खिरहेका थिए । तर उनले भारत र नेपालको जेलमा आफ्नो जीवनको अधिकांश समय बिताए ।

शोभराजको अपराधका चाङ

शोभराजलाई हालसम्म २० जनाभन्दा बढी मानिसको हत्या गरेको अभियोग रहेको छ । भारत, थाइल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा भएका विभिन्न हत्यामा शोभराजको संलग्नता भएको आरोप छ । यी घटना सन् १९७२ देखि १९८२ सम्म भएका थिए । तर सन् २००४ सम्ममा ती आरोपहरू पुष्टि हुन नसकेको बताइन्छ ।

यो पढ्न छुटाउनुभयो कि ? : नेपाल फेरि एक पटक अन्तर्राष्ट्रिय एरिनामा : कारण बने चार्ल्स शोभराज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?