नरैनापुरको आदर्श विद्यालयमा शैक्षिक सामाग्री वितरण

लोकपथ
39
Shares

बाँके । ग्रामीण विकासको लागि चाइना फाउण्डेसनको आर्थिक सहयोगमा बेसले नरैनापुरको आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बिहीबार झोला तथा शैक्षिक सामाग्री वितरण गरेको छ । मधेशी, दलित र मुस्लिम समूदायका बालबालिकाको शैक्षिक प्रोत्साहनका लागि बेसले शैक्षिक सामाग्री वितरण गरेको जनाएको छ ।

आदर्श माध्यमिक विद्यालय नरैनापुरमा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा बेसकी केन्द्रीय सदस्य संगिता थारुले विद्यार्थीको शैक्षिक प्रोत्साहन स्वरुप शैक्षिक सामाग्री वितरण गर्दै आईरहेको जानकारी दिए । शैक्षिक सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले यसप्रकारको सहयोगले गरिव तथा विपन्न वर्गका बालबालिकाको शैक्षिक प्रोत्साहनमा टेवा पुग्ने बताए ।

सहयोग सानो ठूलो नभई विद्यार्थीको शैक्षिक मनोविज्ञानमा समेत परिवर्तन आउने उनले दाबी गरे । अध्यक्ष शाहले नरैनापुर दुर्गम क्षेत्रको नामबाट चिनिए पनि अब शैक्षिक क्षेत्रको हबको रुपमा नरैनापुरलाई विकास गर्ने बताउँदै आदर्श माध्यमिक विद्यालयलाई इण्टर कालेज बनाउने र कन्या विद्यालयको निमार्णका लागि ढेक्का भई सकेकोले निकट भविष्यमा संचालनमा आउने जानकारी दिएका थिए ।

गाँउपालिका अध्यक्ष शाहले शिक्षाको विकास नभई देशको विकास नहुने भन्दै मधेशी, मुस्लिम, दलित र पिछडिएको समुदायलाई शिक्षित र जागरुक बनाएर अगाडी बढाउनका लागि नरैनापुर गाँउपालिका गम्भीर भएर लागेको बताउँदै उनले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै एकजुट भएर लाग्नुपर्ने उल्लेख गरे ।

नरैनापुर २ का वडा अध्यक्ष मसुद अहमद शाहले चाइना फाउण्डेसनको आर्थिक सहयोगमा शैक्षिक सामाग्री वितरण गर्नुले विद्यार्थीमा थप हौसला प्रदान गरेको बताए । उनले यो सहयोग बिद्यार्थीको लागि अविष्मरणीय रहने भन्दै सहयोगी मनहरुलाई हार्दिक कृतज्ञता समेत व्यक्त गरेका थिए । कपी, पेन्सील, इरेजर, स्कुल ब्याग लगायतका सामाग्री सहित ५४० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहको प्रमुख अतिथिमा भएको कार्यक्रमका बेसकी केन्द्रीय सदस्य संगिता चौधरी,नरैनापुर वडा नं. २ का वडा अध्यक्ष मसूद अहमद शाह, शिक्षा समितिका सदस्य एंव अध्यक्षका स्वकीय सचिव ब्रिजेन्द्र यादव, नरहरिनाथ योगी, बिद्यालयका प्रअ तिरलोकी नाथ मौर्य लगायतले शुभ कामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन स्थानीय शिक्षक अरुण यादवले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?