बंगलादेशसँगको व्यापार सहजीकरणका लागि चेम्बर अफ कमर्सको पहल

लोकपथ
39
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यापार सहजीकरणबारे बंगलादेशका उद्योगी एवम् व्यवसायीसँग आज छलफल गरेको छ । नेपाल भ्रमणमा रहेका बंगलादेशका उद्योगी व्यवसायी र चेम्बरबीच सडक र हवाई पूर्वाधार विकासमार्फत व्यवसायिक गतिविधी बढाउने सहमति भएको हो ।

नेपाल बंगलादेशबीचको कुटनीतिक सम्वन्ध ५० वर्ष पुरा भएको सम्बन्धमा दुई राष्ट्रबीचका व्यवसायिक प्रतिनिधिबीच, ऊर्जा, पर्यटन, उद्योग लगायतका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको हो । अध्यक्ष मल्लले भने, ‘नेपाल, भारत र बंगलादेशबीच ऊर्जा व्यापारका लागि त्रिपक्षीय सम्झौता भएको छ । यसको प्रभावकारी कार्यन्वयनसँगै लगानीका लागि हामी आव्हान गर्दछौँ ।’

बंगलादेशमा सडक सञ्जाललसँगै हवाई सम्पर्क विस्तार गरेर नागरिकको तवरबाट पनि सम्बन्ध विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । बंगलादेशसँग नेपालको व्यापारघाटा उच्च रहेको सन्दर्भमा  अध्यक्ष मल्लले निर्यात सम्भावना भएका बस्तुहरुको खोजी गर्नुपर्नेमा जोडदिए । नेपालले ऊर्जा व्यापारमार्फत व्यापार घाटा कम गर्न सक्ने सम्भावना भएकाले यसको सहजीकरण गर्न तथा विद्युतमा लगानीका लागि मल्लले आग्रह गरे ।

बंगलादेशमा ऊर्जाको माग उच्च रहेको सन्दर्भमा नेपालबाट निर्यात गर्ने विभिन्न विकल्पमा दुई पक्षीय छलफल भएको थियो । नेपाल, बंगलादेश र भारतबीच ऊर्जा व्यापार सम्बन्धी सम्झौता भएपनि यसको व्यवहारिक कार्यन्वयन हुन सकेको छैन ।
चेम्बर अध्यक्ष मल्लले विद्युत व्यापारको सहजिकरणसँगै नेपालमा जलविद्युतमा लगानी गर्न बंगलादेशका उद्योगी व्यवसायीसँग आग्रह गरे । यस्तै नेपालमा साना तथा मझौला उद्योगमा समेत लगानीका लागि नेपाल खुला रहेको र लगानी सुरक्षणका लागि सरकारसँग आफूहरुले पहल गर्ने अध्यक्ष मल्लले बताए ।

बंगलादेशको लालमोनिरहात चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष मोरोल ह्युमयुन कबिरले दुई देशको व्यापार सहजीकरणका लागि सडक पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए । हवाईसँगै स्थल मार्गलाई समेत जोड्न दुवै राष्ट्रले पहल गर्नुपर्नेमा उनले जोड दिएका छन् । नेपालमा ऊर्जा, पर्यटन क्षेत्रमा लगानीका लागि आफूहरु तयार रहेको तर नीतिगत सहजीकरणका लागि चेम्बरले पहल गर्नुपर्ने कबिरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?