काठमाडौं । गत निर्वाचनपछि यतिबेला राजनीतिक दलहरु सरकार गठनको खेलमा लागेका छन् ।
एकातिर वर्तमान गठबन्धनलाई नै जोगाएर सरकार गठन हुने सम्भावना देखिएको छ । भने अर्कोतिर एमालेले अन्य दल र गठबन्धनमा आवद्ध केही दलहरुसँग मिलेर सरकार बनाउने चर्चा चल्न थालेको छ ।
तत्कालिन नेकपा विभाजनपछि शत्रुतामा बदलिएको एमाले र माओवादी अध्यक्षबीच निर्वाचनपछि सम्वाद बढ्न थालेको छ । कतै प्रचण्डले गठबन्धन छोडेर एमालेसँग मिलेर सरकार बनाउने त होइन भन्ने शंका गर्न थालिएको छ । तर प्रचण्ड स्वंयमले भने गठबन्धनलाई नै जोगाएर सरकार गठन गर्नुपर्नेमा जोड दिँदै आइरहेका छन् ।
एमालेसँग मिलेर सरकार बनाएको खण्डमा प्रधानमन्त्रीको समेत आश प्रचण्डलाई देखाइएको स्रोतको दाबी रहेको छ । तर उनले कठिन अवस्थामा गठबन्धन बनेको कारण त्यसलाई भत्काउन नहुनेमा विश्वस्त रहेको उनी निकटहरु बताउँछन् ।
२०७४ को निर्वाचनमा एमाले माओवादी मिलेर बनेको नेकपाको विभाजन हुन पुग्यो । आधा–आधा समय ओली प्रचण्डले सरकारको नेतृत्व गर्ने भनिए पनि ओलीले बिचमै संसद विघटनको बाटोतिर लागेका कारण पनि पुनः तत्काल ओलीसँग मिलेर प्रचण्डले सरकार बनाउने सम्भावना नरहेको विश्लेषकहरुको भनाइ रहेको छ ।
चुनावपछि ओलीले बारम्बार वामपन्थी सरकारको काड फालिरहे पनि त्यसबाट प्रचण्ड विश्वस्त नरहेको उनी निकटहरुको दाबी छ ।
संविधानको रक्षा, लोकतन्त्रको संस्थागत, संघीयताको पूर्ण कार्यान्वयन, प्रतिगमनलाई पूर्ण रुपमा परास्त गर्ने, र शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता जस्ता जिम्मेवारी गठबन्धनको रहेकाले अहिले यस गठबन्धनको विकल्प नभएको उनले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया