युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा अमेरिकी संसदमा सम्बोधनः रुसका सामु घुँडा नटेक्ने अडान

लोकपथ
21
Shares

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसका अगाडि घुँडा नटेक्ने अडान दोहोर्‍याएका छन् ।

रुसले युक्रेनमा आक्रमण गरेपछि पहिलो पटक अमेरिका भ्रमणमा पुगेका जेलेन्स्कीले अमेरिकी संसदको दुबै सदनको संयुक्त बैठक कंग्रेसलाई सम्बोधन गर्दै आत्मसमर्पण नगर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

आफूले शान्तिका लागि अघि सारेको दश बूँदे प्रस्तावलाई राष्ट्रपति जो बाइडेनले स्वीकारेको भन्दै जेलेन्स्कीले प्रत्येक अमेरिकी सांसदले पनि त्यसलाई अनुमोदन गर्नुपर्ने बताए ।

रुसलाई आतंककारीको संज्ञा दिंदै जेलेन्स्कीले आतंककारीलाई सबक सिकाउन अमेरिकी कंग्रेस एक ढिक्का हुनेछ भन्ने विश्वास पनि ब्यक्त गरे । त्यसअघि ह्वाइटहाउसमा राष्ट्रपति बाइडेनसँग भएको वार्तामा जेलेन्स्कीले शान्तिका लागि देशको सिमाना गुमाउन नसक्ने बताएका थिए। उनले सम्बोधन गरिरहँदा सांसदहरुले ताली बजाउँदै उभिएर सम्मान व्यक्त गरेका थिए ।

वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई आवश्यक थप सहयोग घोषणा गर्दै झण्डै दुई अर्ब डलर बराबरको उच्च प्रविधियुक्त प्याट्रिएट रक्षा प्रणाली पनि उपलब्ध गराउने घोषणा गरेका थिए ।

बाइडनले युक्रेनका लागि व्यापक सहायताका रूपमा नयाँ वर्षमा झण्डै ४५ अर्ब डलरको सहायता गर्ने बचन दिएका छन् तर यसलाई कङ्ग्रेसले स्वीकृति दिन भने बाँकी छ।

बाइडेनले जेलेन्स्कीलाई अमेरिकाले यूक्रेनलाई कहिल्यै एक्लै नछाड्ने बचन पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?