आफ्नै समूहकाले धोका दिएको कि, गगनले नियन्त्रणमा राख्न नसकेको ?

लोकपथ
104
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा उम्मेदवार रहेका महामन्त्री गगन थापाले आफ्नै समूहमा रहेका केही सांसदको मत पाउन सकेनन् । ८९ जना सांसद रहेको कांग्रेसमा थापाले २५ मत ल्याउँदा अर्का उम्मेदवार प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले ६४ मत ल्याएर विजयी भए ।

जबकी पार्टी रूपान्तरणका मुद्दामा एक ठाउँमा उभिने भन्दै महामन्त्री थापालाई संसदीय दलमा आफ्ना पक्षका नेता/सांसद अलवा महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेलले साथ दिएका थिए । ठीक एक वर्षअघि सम्पन्न १४ औं महाधिवेशनमा नेता शेखर कोइराला पक्षमा खुलेकामध्ये यस पटक ३२ जना चुनाव जितेर आएको बताइए पनि ती मध्ये ७ जनाले थापालाई मतदान गरेको देखिएन ।

जबकी त्यसमा अन्तिम समयमा महामन्त्री शर्मा र प्रदीपसहित ५ जना थप भएको दाबी गरिएको थियो । नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री शर्मा, नेता पौडेलले सघाउँदा आफ्नो समूहमा रहेकोभन्दा बढी अर्थात् करिब ३७ मत आउने र ७ देखि ८ मतको अन्तर हुने अनुमान थापा पक्षको थियो ।

तर भैदियो उल्टो थापाले आफ्नो समूहमा रहेका भनिएका सांसद कै मत पाउन सकेनन् । थप्ने त परको कुरा । निर्वाचनकै समयमा गोप्य मतदानको भावनालाई उल्लंघन गर्दै केही सांसदले मत हालेको फोटो खिच्न लगाइएको भन्दै थापा स्वयंले आपत्ति जनाएका थियो । यसको मतलव संस्थापन इतरमा रहेका भनिएका तर, आश र त्राशमा देउवालाई मत हाल्नेहरुको प्रमाण जुटाउन संस्थापन पक्षले दबाब दिएको थियो त ? त्यसरी फोटो खिचेर ल्याउन प्रधानमन्त्री पत्नी आरजु राणा र गृहमन्त्री पत्नी मञ्जु खाँणले दबाब दिएको समाचार नै आए ।

देउवा पक्ष जीतको खुशीमा रमाउँदा थापापक्ष भने पराजयको कारण खोतल्न घोत्लँदै छ । पार्टीको आन्तरिक चुनाव भएकाले कसले मत हालेन भन्ने पत्ता लागिहाले पनि गर्नु त के नै छ र ? यद्यपि, थापा निकट एक नेता भन्छन्, ‘कसले मत दिएन भन्ने अनुमान त लगाइसकिएको छ । आगामी दिनमा झनै प्रष्ट हुनेछ ।’ केही सांसदलाई मन्त्रीको आश्वासनमा देउवा शिविरतिर तानिएको उनको आशंका छ ।

जीत लगत्तै सभापति देउवाले पार्टीलाई ‘ब्यवधानमुक्त राख्छु’ भन्दै अमूर्त वक्तव्य दिए । आफूलाई मत दिने सांसदहरुलाई उनको धन्यवाद पनि थियो । पाँच÷पाँच पटक देशको प्रधानमन्त्री हुँदा पनि पार्टीभित्रैका अरुलाई अवसर दिन नचाहने तथा परिवर्तनको अपेक्षा अनुसार काम पनि गर्न नसक्ने आरोप खेपिरहेका देउवा परिस्थितिले फेरि अर्को एक पटक प्रधानमन्त्री बन्ने सम्मुखमा पुगेका छन् ।

गठबन्धन दलको नेतृत्व गरेर एमाले अध्यक्ष केपी ओलीलाई सत्ताबाट विस्थापन गर्दै पाँचौ पटक प्रधानमन्त्री बनेका उनी यस पटक संसदको सबैभन्दा ठूलो दलको नेताका हैसियतमा छैठौं पटक उक्त पदमा पुग्न चाहन्छन् । त्यसका लागि उनले राष्ट्रपति, मन्त्रीदेखि विभिन्न पदका आकांक्षीलाई गच्छे अनुसारको पद बाँडिदिएका छन् ।

उता, चुनावमा आशातित मत नपाएर पराजित बनेका महामन्त्री थापाले भने पार्टीका बहुमत सांसदहरूले दललाई नयाँ रूपले सञ्चालन गर्न नचाहेको देखिएको भन्दै सांसदहरूको मन जित्ने अझै धेरै परिश्रम गर्ने बताए । मन्त्री बन्न नजाने बताउँदै उनले पार्टीकै भूमिकामा सक्रिय रहने बताए । बरु राष्ट्रपति, प्रधानमन्त्रीलगायत पदमा बन्द कोठामा गरिने लेनदेन स्वीकार्य नहुने भन्दै जे गर्ने हो पार्टीको संस्थागत निर्णयबाट हुनुपर्ने चेतावनी दिए ।

यी मध्ये कसले दिएनन् गगनलाई मत ? 

गत महाधिवेशनको समीकरण अनुसार कोइराला र थापा समूहमा रहेको भनिएका सांसदहरु निम्नानुसार हुन् ।

  • शेखर कोइराला
  • धनराज गुरुङ
  • गगन थापा
  • बद्री पाण्डे
  • जीवन परियार
  • हृदयराम थानी
  • दिलेन्द्रप्रसाद बडू
  • योगेश गौचन थकाली
  • रामनाथ अधिकारी
  • सञ्जयकुमार गौतम
  • रामकृष्ण यादव
  • देवप्रसाद तिमल्सेना
  • राजेन्द्र बजगाईं
  • डिगबहादुर लिम्बू
  • दिक्पालकुमार शाही
  • सुनीलकुमार शर्मा
  • तेजुलाल चौधरी
  • राजु थापा
  • अर्जुननरसिंह केसी
  • चन्द्र भण्डारी
  • सुरेन्द्रराज आचार्य
  • दीपक गिरी
  • सरिता प्रसाईं
  • प्रतिमा गौतम
  • लीलादेवी बोखिम
  • सीता मिजार
  • मुक्ताकुमारी यादव
  • विनाकुमारी थनेत
  • सपना राजभण्डारी
  • कुसुम थापामगर
  • मैना रावल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?