काठमाडाैं । कांग्रेस संसदीय दलको नेताका उम्मेदवार गगन थापाले भावी सन्तति र पार्टीको भविष्य सम्झेर आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।
संसदीय दलको नेता चयनका लागि मतदान सुरु हुनुअघि एक अपील जारी गर्दै महामन्त्री समेत रहेका थापाले विवेकसम्मत निर्णय गर्न समेत आग्रह गरेका छन् ।
‘नेपालको लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गर्नु भएका अग्रज नेताहरुको उच्च सम्मान गर्दै यहाँहरुवाट मार्गनिर्देनको अपेक्षा गर्दछु’, थापाको अपीलमा भनिएको छ, ‘पार्टीका श्रद्धेय नेताहरू तथा सम्पूर्ण माननीय सांसदज्यूहरूले देश, जनता, भावी सन्तति र पार्टीको भविष्य सम्झेर छातीमा हात राखि युगानुकुल निर्णय गरी संसदीय दलको नेतामा मलाई मतदान गर्नुहुन विनम्रतापूर्वक अनुरोध गर्दछु।’
संसदीय दलको निर्वाचनले देश, जनता र नेपाली कांग्रेसको भविष्य दिशानिर्देश गर्ने पनि उनको भनाइ छ ।
बर्तमान राजनीतिक अन्यौलता र आर्थिक संकटको घडीमा राजनीतिक स्थायित्व सुनिश्चित गर्दै असल शासन र व्यापक आर्थिक सुधारको जगमा समुन्नति र विकास नै अबको राष्ट्रिय एजेण्डा भएको पनि थापाले बताएका छन् ।
संसदीय दलको निर्वाचनमा थापाको प्रतिस्पर्धा सभापति शेरबहादुर देउवासँग हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया