नेपाली कांग्रेसले आज संसदीय दलकाे नेता चुन्दै, शेरबहादुर र गगन मैदानमा

लोकपथ
104
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचन आज हुँदैछ । निर्वाचनबाट संसदीय दलको नेता चुन्न लागेको कांग्रेसमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिष्पर्धामा छन् । मतदान अहिले बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान हुनेछ ।

संस्थापन पक्षबाट सभापति देउवा र संस्थापनइतर समूहबाट महामन्त्रीले एकल उम्मेदवारी दिएकाले पनि निर्वाचन निकै रोचक र प्रतिष्पर्धात्मक हुने अनुमान गरिएको छ ।

प्रतिनिधि सभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित र समानुपातिक गरेर जम्मा ८९ जना सांसद छन् । उनीहरुले पार्टी संसदीय दलको नेता चुन्नेछन् । कांग्रेसमा दलको नेता नै मौका पर्दा प्रधानमन्त्री बन्ने परम्परा रहेकाले यस निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।

पार्टी नेता डा. शेखर कोइरालाको प्रस्तावमा उम्मेदवार बनेका महामन्त्री थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा, उपसभापति धनराज गुरुङ र नेता प्रदीप पौडेलले समर्थन गरेका छन् । पार्टीभित्र रूपान्तरण र परिवर्तनको आवाज निरन्तर उठाइरहेकाहरु एक ठाउँमा उभिँदा परिवर्तनलाई आत्मसात गर्न नसक्नेहरु देउवाको पक्षमा देखिएका छन् ।

सभापति देउवा पक्षले भने गठबन्धन गरेर चुनाव गरिएको र अब पनि गठबन्धनकै सरकार बन्ने भएकाले दल नेतामा देउवा हुनुपर्ने तर्क गर्दै आएका छन् । उनका पक्षमा नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्कालगायत उभिएका छन् ।

यसअघि, हिजो दिउँसो दुई नेताले एक साथ गएर मनोनयन दर्ता गराएका थिए । संस्थापन पक्षमा देउवा एकल उम्मेदवार रहेपनि इतर पक्षमा डा. कोइरालाले समेत इच्छा देखाउँदा उम्मेदवारी तय गर्न उक्त समूहलाई निकै कठीन भएको थियो ।

पछि कोइरालाले १४ औं महाधिवेशनको भावना परिवर्तनका पक्षमा रहेको र आफूले उक्त पक्षको नेतृत्व गरेकाले गगनलाई दलको नेतामा प्रस्ताव गर्छु भन्दै बाटो खोलिदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?