बागमती प्रदेश : कांग्रेसको संसदीय दलको नेता छान्न निर्वाचन गर्ने

लोकपथ
39
Shares

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशसभाको संसदीय दल नेता छान्न निर्वाचन हुने भएको छ । कांग्रेस बागमती प्रदेशको मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता छान्न निर्वाचन गर्ने निर्णय गरेको हो ।

बैठकले कांग्रेस केन्द्रको संसदीय दलको निर्वाचनपछि प्रक्रिया सुरु गर्ने निर्णय गरेको प्रवक्ता तिलक रुवालीले जानकारी दिए । कांग्रेसको केन्द्रमा संसदीय दलको निर्वाचन बुधबार हुँदैछ ।

‘बागमती प्रदेश संसदीय दलको नेता छनौटका विषयमा छलफलका लागि आज कार्य सम्पादन ससिमतिको बैठक बसेको थियो । उक्त बैठकले निर्वाचनबाट दलको नेता चयन गर्ने निर्णय गरेको छ,’ रुवालीले भने, ‘बैठकले निर्वाचनको मिति भने केन्द्रीय संसदीय दलको नेताको भोलि हुने निर्वाचन पछि तोक्ने निर्णय गरेको छ ।’

बैठकले प्रदेश संसदीय दलको नेताको निर्वाचनको लागि समिति समेत गठन गरेको छ । बागमती प्रदेश समितिका उपसभापति समेत रहेका चन्द्र महर्जनको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । समितिको सदस्यहरुमा महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, सदस्य गंगा दाहाल र सदस्य सानु श्रेष्ठ रहेका छन् । उक्त समितिले सभापति शेरबहादुर देउवासँगको समन्वयमा संसदीय दलको नेता चयनका लागि निर्वाचन गराउने उनले बताए । बागमती प्रदेशको संसदीय दलको नेतामा इन्द्र बानियाँ र बहादुर सिंह लामाको दाबी छ ।

त्यस्तै बैठकले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न भूमिका खेल्ने निर्वाचन आयोग, कर्मचारी, मतदाता, राजनीतिक दल, संचारकर्मी र सरकारलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?