कसले गराउँदैछन् सांसदहरुलाई शपथ ?

लोकपथ
42
Shares

काठमाडाैं । संघीय संसद सचिवालयले प्रतिनिधि सभामा नवनिर्वाचित सांसदहरुको शपथग्रहणको तयारी गरेको छ ।

मंसिर ७ गते बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण हुन लागेको हो ।

नवनिर्वाचित सांसदहरुलाई संसदका जेष्ठ सदस्यले शपथ गराउनेछन् ।

संसदका जेष्ठ सदस्य पशुपति शमशेर जबराले अन्य सांसदहरुलाई शपथ गराउने तय भएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार नवनिर्वाचित सांसदहरुको नागरिकता विवरण हेर्दा राणा उमेरका आधारमा जेष्ठ रहेको र उनले नै शपथ गराउने टुंगिएको हो ।

‘जेष्ठ सदस्यको तर्फबाट नवनिर्वाचित सांसद पशुपति शमशेर जबराले अन्य माननीयहरुलाई शपथ ग्रहण गराउने तय भएको छ ।’ धमलाले लोकपथसँग भने ।

१९९८ साल मंसिर २४ गते जन्मिएका राणा हाल ८१ वर्षका भएका छन् । राणाले राष्ट्रपतिबाट शपथग्रहण गरेपछि अन्य सांसदहरुलाई शपथ ग्रहण गराउने छन् ।

शपथग्रहण बिहीबार दिउँसो १ बजेका लागि राखिएको छ ।

राणासहित नवनिर्वाचित सांसदत्रय महन्थ ठाकुर, महिन्द्रराय यादव र चित्रबहादुर केसी पनि संसदको जेष्ठ सदस्यको रुपमा रहेका छन् ।

सांसदहरुको शपथग्रहणपछि मात्रै सरकार गठनको थप प्रक्रिया अघि बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?