अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि फौजदारी अभियोगमा कार्वाही हुने

लोकपथ
104
Shares

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि फौजदारी अभियोगमा कार्वाही हुने सम्भावना बढेको छ । अमेरिकाको संसद भवन ‘क्यापिटल हिल’ मा भएको दंगाबारे छानबीन गरिरहेको संसदीय समितिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोषी ठहर गरेको हो ।

अमेरिकी कंग्रेसको न्यायिक छानबिन समितिले ट्रम्पविरुद्ध चार वटा आपराधिक मुद्दा चलाउन न्याय विभागलाई भनेको हो । सन् २०२१ को जनवरी ६ मा संसदले राष्ट्रपति चुनावको नतिजा प्रमाणीकरण गर्ने बेला प्रदर्शनकारीहरुले क्यापिटल भवनमा आक्रमण गरेका थिए ।

उनीहरुले संसद भवन केहीबेर नियन्त्रणमा लिएका थिए । ती प्रदर्शनकारीलाई ट्रम्पले उक्साएको आरोप लगाइएको छ । यस घटनाको १८ महिनापछि संसदीय समितिको बैठकले ट्रम्पमाथि चार वटा आरोप लगाएको छ ।

जसमा राज्यविरुद्धको बिद्रोहलाई उक्साउने, सहयोग गर्ने वा सान्त्वना दिने र आधिकारिक कार्यमा अवरोध गर्ने रहेका छन् ।

सात डेमोक्रेट र दुई रिपब्लिकनहरुले १ सय ६१ पृष्ठ लामो प्रतिवेदन तयार पारी ट्रम्पमाथि दंगाको क्रममा मतदाताहरुको इच्छा विपरित षडयन्त्र गरेको पुष्टी गरेको हो । ट्रम्पले भने आफूमाथिको आरोप अस्वीकार गर्दै न्यायिक छानविन समितिलाई कंगारू अदालत भनि आलोचना गरेका छन् ।

यस घटनाको छानबीन गर्न बनाइएको समितिले पहिलो पटक चार जना आरोपितमाथि मुद्दा चलाउन निवेदन दिएको थियो । ती चारै जना पूर्वराष्ट्रपति ट्रम्पका सहयोगी एवं कर्मचारी रहेका थिए ।

उनीहरूमाथि चुनावको बारेमा दुष्प्रचार गर्दै चुनावी परिणाम उल्टाउन ट्रम्पका समर्थकहरुलाई उक्साएको एवं भड्काएको आरोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?