चीनबाट आज स्वदेश फर्कंदै वर्षमान पुन

लोकपथ
0
Shares

उपचारका सिलसिलामा चीनमा रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज स्वदेश फर्कंदै छन् ।
स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि उनी फर्कन लागेका हुन् ।

पुन चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै दिउँसो १ बजे अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ । वंशाणुगत जण्डिशबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए ।

उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको हो । पुन पत्नीसमेत रहेकी पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले उनको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको जानकारी दिइन् । नेपालबाट जाँदा पुनमा निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुची तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए ।

उपचारपछि भने ती समस्या हटेको उनले बताइन् । उपचारमा जानुअघि पुनको शरीरमा जण्डिस (बिलरुबिन) को मात्रा २७ बिन्दु थियो । हाल बिलरुबिनको मात्रा घटेर १८ मा आएको छ । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ ।

यसअघि गत वर्ष पनि रोगले च्यापेपछि उनको पहिला थाइल्याण्ड र पछि चीनमा उपचार गरिएको थियो । पुनको उपचारमा डा. चेन नेतृत्वको विशेषज्ञ टोली सहभागी थियो । चिकित्सकले बिलरुबिन नियन्त्रित अवस्थामा राख्न पर्याप्त आरामको जरुरत रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?