राप्रपालाई सरकारमा जान हतारो छैनः अध्यक्ष लिङ्देन

लोकपथ
14
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन् । सोमवार पार्टीको केन्द्रिय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका हुन् । उनले आफूहरुले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् सोही गर्ने बताए । उनले आफूहरु मन्त्री खानको लागि कसैको घर नधाउने स्पष्ट पारे ।

अध्यक्ष लिङदेनले राप्रपा कुनै दलको पुच्छर नबन्ने पनि बताए । उनले सरकारमा जानुपरेमा वा कसैलाई समर्थन गर्नुपरेमा कारणसहित गर्ने उल्लेख गर्नेे बताएका छन् । उनले भने, ‘‘सरकार निर्माणको प्रक्रिया शुरु भएको छ । राष्ट्रपतिबाट आहह्वान भएको छ । हामी बैठक बसेर आधिकारिक धारणा पनि बनाउँछौँ । कोही पनि हाम्रो साथीहरुले आत्तिनुपर्दैन । नेतृत्वले गल्ती गर्छ कि, फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी जोखिममा जान्छ कि यो चिन्ता लिनुपर्दैन । हामी सोचि, विचारी निर्णय गर्छौ । अहिले न हामीलाई सरकारमा जान हतारो छ । न सरकारमा नजाने भनेर हामीले कसम खाएरै आएका छौँ । के गर्दा उपयुक्त हुन्छ । के गर्दा हाम्रो मान्यताहरु स्थापित हुन सक्छन् । के गर्दा देश र जनताको अवस्थामा परिवर्तन ल्याउन सकिन्छ । त्यो सोचेर, बिचार गरेर हामी निर्णय गर्छौ । हामी मन्त्री खानको लागि कसैको घर धाउँदैनौँ । कुनै दलको पुच्छर बनेर हिँड्दैनौँ । हामीले सरकारमा गएर, नगएर पनि अरु कसैलाई समर्थन गर्नुप¥यो भने कारणसहित गर्छौं । कारणसहित जान्छौँ । त्यसमा तपाईहरु सबै ढुक्क रहन आग्रह गर्छु ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?