एमालेसँग मिलेर सरकार बनाइन्न : प्रचण्ड

लोकपथ
26
Shares

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि सबै विषय दाउमा नराखिने भन्दै एमालेसँग मिलेर सरकार नबनाइने प्रष्ट गरेका छन् । सोमबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले माओवादीले एमालेसँग मिलेर सरकार बनाउने भन्ने चर्चामा सत्यता नभएको जिकीर गरेका हुन् । एमालेसँग माओवादीको कुराकानी हुनु स्वभाविक भए पनि टुंगोमा पुगेको भन्ने सत्य नभएको पनि उनको भनाइ थियो ।

सरकार गठनका लागि राष्ट्रपतिले दिएको सात दिनको समयावधि भित्रै गठबन्धनबाट प्रधानमन्त्री चयन गरिने भन्दै उनले कसको नेतृत्वमा सरकार गठन गर्ने भन्नेबारे छलफल चलिराखेको पनि बताए । प्रधानमन्त्रीका लागि आफूले आकांक्षा राख्नु स्वभाविक भए पनि बाहिर भनेजस्तो औपचारिक रुपमा गठबन्धनको बैठकमा दाबी गरिनसकेको प्रचण्डको भनाइ थियो । उनले भने, ‘हामी गठबन्धनमा छलफल गर्छौ र टुंग्याउछौ । अहिले नै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लागेको छैन ।’

प्रधानमन्त्री बन्नका लागि सबै चिज दाउमा राख्दिन भन्दै उनले छलफल भने सबैसँग भइरहेको जानकारी दिए । एमाले–माओवादी पार्टी एकताका लागि बाहिर आएजसरी औपचारिक छलफल र कुराकानी नभएको पनि उनले बताए ।

राष्ट्रपति गैरदलीय व्यक्ति हुननसक्ने भन्दै प्रचण्डले केही बुद्धिजीवीले त्यस्तो व्यक्ति हुँदा राम्रो हुने भनेपनि अहिले त्यो सम्भावना नरहेकाले दलबाटै चयन हुने पनि बताए । राष्ट्रपतिले दिएको सात दिनको समयमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका शक्ति बाँडफाड गरेर प्याकेजमै सहमति खोज्ने प्रयत्नमा दलहरू रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?