विचार मिल्नेहरुसँग समाजवादी फोरम बनाउनेतर्फ प्रचण्डको संकेत

लोकपथ
78
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विचार मिल्नेहरुका बीचमा समाजवादी फोरम बन्न सक्ने संकेत गरेका छन् । आइतबार बसेको पदाधिकारी बैठकमा प्रचण्डले जो सच्चा कम्युनिष्ट भन्ने छन् उनीहरुलाई एकैठाउँमा ल्याएर लुज फोरम बन्नसक्ने तर्फ संकेत गरेको माओवादी केन्द्रका महासचिव देव गुरुङले लोकपथलाई जानकारी दिए ।

‘विचार मिल्नेहरु एकैठाउँमा रहने विषयमा पहिलादेखि नै कुरा उठिरहेको थियो,’ लोकपथसँगको कुराकानीमा गुरुङले भने, ‘विचार मिल्नेहरुबीच लुज टाइपको फोरम बनाउनेबारे आफूलाई प्रस्ताव आएको आज बसेको पदाधिकारी बैठकमा उहाँले जानकारी गराउनु भएको हो ।’

बैठकमा सरकार गठन र सांसदको शपथ ग्रहण प्रकृयाका बारेमा छलफल भएको उनले जानकारी दिए । ‘आजको पदाधिकारी बैठकमा सरकार गठन र सांसदको शपथ ग्रहण प्रकृया अघि बढाउनेबारे पनि छलफल भएको थियो,’ उनले भने ।

आजै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी छिन् । राष्ट्रपतिको यो कदम संविधानभन्दा बाहिर गएको गुरुङको ठहर छ । ‘प्रतिनिधि सभामा निर्वाचित व्यक्ति शपथ खाइसकेपछि मात्र विधिवत रुपमा सांसद बन्न पाउँछ,’ उनले भने, ‘यदि १० गतेभन्दा अघि नै शपथ ग्रहण गराउने कार्यक्रम छ भने त ठीकै हो नत्र भने राष्ट्रपतिको यो कदमले संविधानलाई नै मिचेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?