प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको पहल, पहिले आफूलाई सघाउन एकार्कामा आग्रह

लोकपथ
26
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष बुझाएसँगै नयाँ सरकार गठनको गृहकार्य तीब्र हुन थालेको छ । पाँच दलीय सत्ता गठबन्धनमा रहेका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच भावी सरकारको नेतृत्वको विषयले औपचारिक प्रवेश पनि पाएको छ ।

अब बन्ने सरकारको नेतृत्व कसले लिन्छ ? भन्नेमा सर्वत्र चासो बढ्दा सत्ता गठबन्धनका कांग्रेस र माओवादी केन्द्र दुबैले भावी प्रधानमन्त्रीका लागि दाबी गरेका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै नेतृत्वमा सरकार गठनका लागि बहुमत जुटाउने कसरतमा छन् ।

यता, राजनीतिक शक्ति सन्तुलनमा राख्दै सरकारको नेतृत्व आफूले पाउनुपर्ने कसरतमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् । यही सन्दर्भमा प्रधानमन्त्री निवास बालुटारमा भएको भेटमा प्रधानमन्त्री देउवा र ‘प्रचण्ड’ ले आफूलाई सघाउन एकार्कामा आग्रह गरेका छन् । दुबैले समग्र शक्ति बाँडफाँटको विषय प्रवेश गराउँदै सरकारको नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।

शनिबार दिउँसो भएको भेटमा दाहालले आगामी दिनको ‘पावर सेयरिङ’ को बारेमा देउवासँग जिज्ञासा राखेका थिए । दाहालको प्रस्तावमा प्रस्ट जवाफ नदिएका देउवाले गठबन्धनको सहमतिअनुसार आफू अगाडि बढ्न तयार रहेको बताएका थिए । कांग्रेसभित्र भने प्राप्त जनमतका आधारमा सरकारको नेतृत्व कांग्रेसले नै लिनुपर्ने विषय सांसदहरुले उठाउँदै आएका छन् ।

संसद र गठबन्धनमा सबैभन्दा ठूलो दलको हैसियत बनाएकाले स्वाभाविक रूपमा कांग्रेसको दाबी प्रधानमन्त्रीमा रहने उनीहरुको भनाइ छ । शनिबार नै बालुवाटारमा गरिएको कांग्रेस सांसदहरूको भेलामा देउवाले राष्ट्रिय राजनीतिका विषय गठबन्धनभित्र छलफल गरेर टुंग्याइने बताएका थिए ।

नवनिर्वाचित सांसद्हरूलाई बधाई तथा शुभकामना कार्यक्रममा कांग्रेसका नवनिर्वाचित केही सांसदले गठबन्धनको सरकार बन्दा प्रधानमन्त्री नछाड्न सुझाव दिएका थिए । जनमतका आधारमा कांग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्ने कांग्रेस सांसद्हरूको तर्क थियो । गठबन्धनभित्रका दुई बलियो शक्तिबीच भावी प्रधानमन्त्रीमा दाबी स्वभाविक भएपनि गठबन्धन भत्किन दिन नहुनेमा कांग्रेस नेताहरुले देउवालाई दबाब दिइरहेका छन् ।

निर्वाचनपछि पहिलो पटक गत मंसिर १९ मा बसेको सत्तागठबन्धनको बैठकले गठबन्धन निरन्तर रहने निर्णय गरेको थियो । तर, सरकार बनाउन गठबन्धनभित्रै सहज बहुमत नभएकाले अन्य दलको साथ लिएर अघि बढ्नुपर्ने बाध्यता पनि छ । यही सत्ता समीकरणको अंकगणित सहज बनाउन प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र मधेसमा नयाँ उदाएको सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सामेल गराउन चाहेका छन् ।

त्यसका लागि उनले हालै अलोकप्रिय अध्यादेश पनि अघि बढाएका छन् । अध्यादेश भने राष्ट्रपति कार्यालयमै रोकिएको छ । नयाँ सरकार गठनका लागि प्रतिनिधिसभामा बहुमत जुटाउन १३८ सांसदको समर्थन चाहिन्छ । सत्तारूढ गठबन्धनमा १३६ सांसद छन् । गठबन्धनलाई जनमत, नागरिक उन्मुक्ति वा स्वतन्त्र सांसदको समर्थनले पनि आवश्यक संख्या पुग्छ ।

प्रतिनिधि सभामा कांग्रेसको ८९, एमालेको ७८, माओवादीको ३२, रास्वपाको २० सिट छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४, जसपाको १२ र एकीकृत समाजवादीको १०, जनमत पार्टीको ६, लोसपाको चार, नागरिक उन्मुक्तिको तीन, जनमोर्चा र नेमकिपाको एक–एक सांसद तथा पाँच स्वतन्त्र सांसद छन् । प्रभु साह, किरण साह, योगेन्द्र मण्डल, लालवीर चौधरी र अमरेशकुमारसिंह स्वतन्त्र निर्वाचित भएका छन् ।

कांग्रेसमा संसदीय दलको नेता चयनको तयारी

यता, नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आज (आइतबार) बोलाइएको बैठकमा संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन र निर्वाचनको मिति तय गर्ने तयारी छ ।

त्यस्तै, आमनिर्वाचनको परिणाम र अबको राजनीतिक कदमबारे बैठकमा समीक्षा हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर संघीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।

सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँच दलीय सत्तागठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ । साथै कांग्रेसमा संसदीय दलको नेताको निर्वाचनको तयारीको पनि सुरु भएको छ ।

दलको नेता चयन गर्न माओवादीको पदाधिकारी बैठक

नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । बैठकमा निर्वाचनको समीक्षा, सरकार गठन र संसदीय दलको नेता चयनलगायतका विषयमा छलफल हुने उनले जानकारी दिए ।

माओवादीमा दलको नेता ‘प्रचण्ड’ हुने निश्चित छ । माओवादीले अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । गठबन्धनभित्र सहमतिका आधारमा सरकारको नेतृत्व गर्नेबारे छलफल भइरहेका बेला माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?