अर्जेन्टिना भर्सेस फ्रान्स : दुवै टोलीलाई तेस्रो पटक विश्व विजेता बन्ने मौका (हेड टू हेड)

लोकपथ
161
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज अर्जेन्टिना र फ्रान्स भिड्दै छन् । लुसेल स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ ।

अर्जेन्टिना र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित मैदान उत्रदै छन् । दुबै देशले समान दुई दुई पटक विश्वकप उपाधि जितेका छन् । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल पुगेको हो । मेस्सीका लागि कतार विश्वकप अन्तिम विश्वकप समेत हो ।

यता, ह्युगो लोरिसको कप्तानीमा रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । साविक विजेता समेत रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकप उचाल्ने अभियानमा रहेको छ ।

हेड टु हेड

पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएको थियो । दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै दुवै टोलीले एक अर्कासँग फाइनलमा भेट पक्का गरेका थिए ।

दुवै टोलिको हेड टु हेड हेर्ने हो भने हालसम्म भएका बाह्र खेलमा अर्जेन्टिना अगाडि देखिन्छ । फ्रान्सविरुद्ध अर्जेन्टिनाले ६ खेल आफ्नो पक्षमा पार्दा यता फ्रान्सले भने अर्जेन्टिनाविरुद्ध जम्मा ३ जित हात पारेको छ । त्यस्तै, ३ खेल बराबरीमा सकिएका छन् ।

आज अर्जेन्टिनाले एमिलियानो मार्टिनेज, नाहुएल मोलिना, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, लिसान्ड्रो मार्टिनेज, निकोलस टाग्लियाफिको, रोड्रिगो डी पाउल, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज, लियोनेल मेस्सीलाई सम्भावित सुरुआती ११ मा दिनसक्ने अनुमान गरिएको छ ।

त्यस्तै, फ्रान्सले पनि ह्युगो लोरिस, जुल्स कुन्डे, राफेल भाराने, डेओट उपमेकानो, थियो हर्नान्डेज, अरुलिन चुवामेनी, एड्रिन राबीओट, उस्माने डेम्बेले, एन्टोनी ग्रिजम्यान, केलियन एमबाप्पे, ओलिभर जेरुडलाई शुरुआती ११ मा स्थान दिनसक्ने छ ।

कतार विश्वकप २०२२ को फाइनलमा जित हात पार्दै विश्व तेस्रो पटक विश्व विजेता बन्ने दाउमा रहेका फ्रान्स र अर्जेन्टिनाका लागि आजको खेलमा प्लेयर्स टु वाच अन्तर्गत अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका केलियन एमबाप्पे रहने छन् । दुवै खेलाडीले कतार विश्वकप २०२२ मा समान ५ गोल गरेका छन् र कतार विश्वकपको गोल्डेन बुटको दौडमा रहेका मेस्सी र एमबाप्पेलाई गोल्डेन बुट जित्न आजको फाइनल खेलमा गोल गर्न आवश्यक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?