पत्रकारितालाई सङ्कुचित बनाउने प्रयास भइरहेको छ : पूर्वराष्ट्रपति यादव

लोकपथ
21
Shares

काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले पत्रकारितालाई सङ्कुचित बनाउने प्रयास भइरहेकाले त्यसतर्फ सजग रहन पत्रकारहरूलाई सुझाव दिएका छन् । आज नेपाल पत्रकार महासङ्घको प्रतिष्ठान प्रदेश समितिको दोस्रो वार्षिक साधरणसभामा उहाँले पत्रकारिता क्षेत्रको चुनौतीको चर्चा गरे ।

‘जहाँ लोकतन्त्र छ, त्यहाँ स्वतन्त्र पत्रकारिता हुन्छ अभिव्यक्तिको स्वतन्त्रता हुन्छ । तर स्वतन्त्रता विस्तारै सङ्कुचनमा गइरहेको छ’, उनले भने, ‘यहाँ मात्र होइन संसारमै यो चुनौती देखिन थालेको छ ।’ उनले विश्वमा भइरहेको लोकतन्त्रको लडाइँमा साथ दिनका लागि नेपाली पत्रकारको ध्यानाकर्षणसमेत गरे ।

पूर्व राष्ट्रपति यादवले विश्व परिवेषलाई ध्यान दिनुपर्नेमा जोड दिँदै भने, ‘ताइवानमा तीन लाख नेपाली छन् । त्यहाँको आन्दोलनमा के भइरहेको छ ? यता बर्मामा भइरहेको आन्दोलनमा पनि नेपाली पत्रकार र पत्रकारका सङ्घ–सङ्गठनले केही बोल्ने हो कि ?’ कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले यस वार्षिक साधारणसभामार्फत श्रम र सम्पादकीय स्वतन्त्रका विषयमा गहन छलफल हुनुपर्ने बताए । ‘पत्रकारिताभित्र श्रमको उचित मूल्याङ्कन हुनसकेको छैन ।

सम्पादकीय स्वतन्त्रताको अवस्था के छ भन्ने कुरामा समीक्षा गर्नुपर्ने भएको छ’, उनले भने । महासङ्घका प्रतिष्ठान प्रदेशका महासचिव बालकृष्ण अधिकारीले कोरोना महामारीका बीच पनि प्रतिष्ठानले गरेको कामको समीक्षा र आगामी रणनीति निर्माणका लागि छलफल हुने बताए ।

कार्यक्रममा प्रदेश परिषद् सदस्यमा मनोनित भएका कान्तिपुर दैनिकका अतुल मिश्र, राजधानी दैनिकका राजेन्द्र श्रेष्ठ, ग्लोबल टेलिभिजनका प्रकाश गिरी, नागरिक दैनिकका पवित्रा सुनाल, नेपाल टेलिभिजनका टङ्क उप्रेती, रातोपाटी डटकमका रोहित दाहाल र नेपाल समाचारपत्रका दीपक रिजाल र कारोबार दैनिकका बालकृष्ण ज्ञवालीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमा पाँचवटा प्रतिष्ठान शाखालाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?