बैंकिङ क्षेत्रको ठुलो परिमाणको निक्षेप तथा कर्जा बाग्मती प्रदेशमा केन्द्रित

लोकपथ
14
Shares

काठमाडौं । बैंक तथा फार्ईनान्स कम्पनीहरुको बहुसंख्यक निक्षेप तथा कर्जा बाग्मती प्रदेशमा केन्द्रित भएको देखिएको छ । बैंकिङ क्षेत्रमा अहिले ५१ खर्ब ७१ अर्ब रुपैयाँको हाराहारीमा निक्षेप रहेको छ भने ४७ खर्ब ७० अर्ब रुपैयाँको हाराहारीमा कर्जा रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन सम्वन्धी बागमती प्रदेशको आर्थिक बर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन अनुसार बाग्मती प्रदेशमा दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, मकवानपुर र चितवन सहितका १३ वटा जिल्ला रहेका छन ।

यि जिल्लाहरुबाट मात्र बैंक तथा फाईनान्स कम्पनीहरुले २०७९ असार मसान्तमा ३५ खर्ब नौ अर्ब ९४ करोड रुपैयाँ निक्षेपक संकलन गरेका छन् भने यस अवधिमा २६ खर्ब २१ अर्व १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकको यही तथ्यांकको आधारमा पनि बैंकिङ क्षेत्रको ठुलो परिमाणको निक्षेप तथा कर्जा बाग्मती प्रदेशमा नै केन्द्रित रहेको देखिएको हो ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार बाग्मती प्रदेशबाट संकलन गरेको कुल निक्षेप रकम २०७८ असार मसान्तको तुलनामा नौ दशमलव चार प्रतिशतले बढेर २०७९ असार मसान्तमा ३५ खर्ब नौ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप १९ दशमलव २८ प्रतिशतले वृद्धि भएको थियो । २०७९ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले बाग्मती प्रदेशमा प्रवाह गरेको कर्जा २०७८ असार मसान्तको तुलनामा ११ दशमलव चार प्रतिशतले वृद्धि भई २६ खर्ब २१ अर्व १५ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यस्तो कर्जा २८ दशमलव पाँच प्रतिशतले वृद्धि भएको थियो । २०७९ असार मसान्तमा कर्जा निक्षेप अनुपात ७४ दशमलव चार प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ७३ दशमलव तीन प्रतिशत रहेको थियो । २०७९ असार मसान्तसम्म कुल कर्जाको तुलनामा पुनरकर्जाको हिस्सा बाग्मती प्रदेशमा एक दशमलव छ प्रतिशत प्रतिवेदनमा उल्लेख छ । कुल ४१ अर्ब आठ करोड पुनरकर्जा प्रवाहित भएकोमा साधारण पुनरकर्जाको हिस्सा ८४ दशमलव ६३ रहेको छ । प्रतिवेदन अनुसार विशेष पुनरकर्जा अन्तर्गत निर्यात, महिला उद्यम, प्राकृतिक प्रकोप र अन्य गरी चार प्रकारका रहेका छन् जसमा कुल पुनरकर्जाको १२ दशमलव १९ प्रतिशत हिस्सा प्रवाहित भएको छ । यस अवधिमा लघु, घरेलु तथा साना उद्यममा तीन दशमलव १८ प्रतिशत रकम प्रवाह भएको छ ।

राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तसम्म कुल कर्जाको तुलनामा सहुलियतपूर्ण कर्जाको हिस्सा दुई दशमलव आठ प्रतिशत रहेको छ । बाग्मती प्रदेशमा प्रवाहित सहुलियतपूर्ण कर्जा मध्ये व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा शीर्षकमा सबैभन्दा बढी ६५ दशमलव सात प्रतिशत तथा महिला उद्यमशील कर्जा शीर्षकमा २९ दशमलव पाँच प्रतिशत कर्जा बक्यौता रहेको छ भने अन्य शीर्षकमा नगन्य मात्रामा कर्जाको बक्यौता रहेको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?