सरकारको अनुहार हेरेर मेट्रो आउँदैन, महानगर मिलेर काम थालौँ : चिरिबाबु महर्जन

लोकपथ
14
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताएका छन् ।
शनिबार ललितपुर महानगरपालिकाको १०४ औँ स्थापना दिवसका अवसरमा बोल्दै उनले काठमाडौं उपत्यकामा मेट्रोको विकल्प नरहेको बताए । उनले मेट्रो रेल धेरै महंगो छ भनेर पछि हट्नु नहुने बताए ।

महर्जनले मोटरसाइकल ल्याएर उपत्यकामा ट्राफिक जाम बढाउनु भन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने बताए । उनले मेट्रो रेलको विकल्प मोेटरसाइकल किमार्थ हुन नसक्ने दाबी गर्दै उपत्यकामा मेट्रोको विकल्प नै रहेको बताए । मेयर महर्जनले अन्तर्राष्ट्रिय अध्ययन अनुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य रहेको भन्दै विलम्व नगरी मेट्रोको आवश्यक तयारी गर्नुपर्ने धारणा व्यक्त गरे ।

मेट्रो रेलको लागि सरकारको अनुहार हेरेर कहिल्यै सम्भव नहुने भन्दै उनले काठमाडौं र ललितपुर महानगरपालिका लगायत काठमाडौं उपत्यकाका १८ वटा पालिकाको राम्रो भुमिका यसमा हुनुपर्ने बताए । उनले विशेष गरी मेट्रो रेल सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले प्रमुख भूमिका खेल्नुपर्ने बताए ।

उनले भने, ‘काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प छँदै छैन । मेट्रो चलाउनैपर्छ । आज निर्णय गर्नसक्यौँ भने अर्को १० देखि १५ वर्षसम्ममा त्यो सकिन्छ । मेट्रो ज्यादै महंगो छ रे भन्ने सुन्ने गरेको छु । सस्तो के त ? सस्तो पनि त हुनुपर्छ । अबको १५ वर्षपछि काठमाडौं उपत्यका भित्रको जनसंख्या ६० लाख पुग्छ । यसको विकल्प के त ? यही मोटरसाइकल ल्याउने ? तसर्थ यो विकल्प किमार्थ हुन सक्दैन । यसको निमित्त हामीले मेट्रो नल्याइकन सुखै छैन ।

महंगो भयो भनेर वास्तै नगर्ने ? यो हुँदैन । कुनैपनि योजना बनाएर भएपनि मेट्रो ल्याउनैपर्छ । अन्तर्राष्ट्रिय अध्ययन अनुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य छ । विलम्व नगरी यो काम अघि बढाऔँ । यसको लागि नेपाल सरकारको अनुहार हेरेर बस्ने हो भने केही पनि हुँदैन ।

त्यसको लागि काठमाडौं र ललितपुर महानगरपालिका लगायत काठमाडौं उपत्यकाका १८ वटा पालिकाको राम्रो भुमिका खेल्नुपर्छ । त्यसमा काठमाडौं महानगरपालिका प्रमुख हो । यसमा अघि बढौँ ।’ मेयर महर्जनले आफ्नो दोस्रो कार्यककालमा अझै बढी काम गरेर देखाउने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?