लुम्बिनीमा दुई महिनामै ६१ लाख दान संकलन

लोकपथ
35
Shares

रुपन्देही । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दान बापत दुई महिनामा ६१ लाख २० हजार ८०६ रूपैयाँ संकलन भएको छ । लुम्बिनी विकास कोषले पाँच दिन लगाएर शुक्रबार सकाएको दानपेटीकाको भेटी गणनामा उक्त रकम संकलन भएको पाएको हो ।

आन्तरिक र वाह्य पर्यटकको संख्या वृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दानपेटिका छिट्टै भरिन थालेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिए । अघिल्लोपटक तीन महिनामा एक पटक गणना गरिएकोमा यस पटक दानपात्र छिट्टै भरिएकाले दुई महिना नपुग्दै गणना सुरु गरिएको हो ।

गत ३० असोज गरिएको भेटिगणनामा २७ लाख १८ हजार दानबापत रकम संकलन भएको थियो । कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेपछि लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि हुन थालेको छ । अहिले लुम्बिनी भ्रमणको सिजन समेत सुरु भएकाले छिमेकी देश भारतसहित थाइल्यान्ड, म्यानमार, भियतनाम र यूरोपबाट समेत दर्शनार्थी आउने क्रम बढेको कोषाध्यक्ष भट्टराईले बताए ।

लुम्बिनी विकास कोषको सुचना शाखाका अनुसार नोभेम्बर महिनामा मात्रै आन्तरिक अर्थात नेपालीले ८२ हजार २०५ जनाले भ्रमण गरेका छन् । यस्तै, नोभेम्बर महिनामा मात्रै भारतबाट ३८ हजार ६८९, अन्य मुलुकबाट सात हजार ४७३ जनाले लुम्बिनीमा पाईला टेकेका छन् ।

नोभेम्बर महिनासम्म पाँच लाख ४५ हजार नेपालीले लुम्बिनी भ्रमण गरेकोमा भारतबाट एक लाख ८८ हजार पर्यटक भित्रिएको सूचना शाखाको तथ्यांकमा उल्लेख छ । भियतनाम, म्यानमार, थाइल्याण्ड, श्रीलंका लगायतका ८४ मुलुकबाट एक लाख ८१ हजारले लुम्बिनी भ्रमण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?