ताप्लेजुङको पापुङमा सडक पुग्यो

लोकपथ
56
Shares

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा सडक पुगेसँगै स्थानीय हर्षित् भएका छन् । भौगोलिकरुपमा विकट र सदरमुकामदेखि टाढा रहेको गाउँमा सडक पुगेपछि स्थानीयमा खुसीयाली छाएको छ ।

सदरमुकामलगायतका ठाउँमा घण्टौँ पैदल हिँडेर ओहोरदोहोर गर्नुपर्ने र दैनिक उपभोग्य सामान महङ्गोमा ढुवानी गर्दै आएका स्थानीयलाई गाउँघरमै सडक पुगेपछि सहज भएको छ । सडक पुगेको पापुङका स्थानीयले साँवाको तेम्बे बजारदेखि प्रतिकिलो १५ रुपैयाँका दरले ढुवानी भाडा तिरेर दैनिक उपभोग्य खाद्यान्नलगायतका सामान ढुवानी गर्दै आएका थिए ।

यस्तै, सदरमुकामतर्फ आउनका लागि गाउँबाट सवारी साधन चढ्न घण्टौँसम्म पैदल हिँड्नुपर्ने बाध्यता थियो । पापुङकै दुरदराजका गाउँका बासिन्दालाई सवारीसाधन प्रयोग गर्न पुरै दिन हिँड्नुपर्ने र साँवामै बास बसेर भोलिपल्ट बिहानसम्म कुर्नुपर्ने समस्या थियो । अहिले गाउँमै गाडी आउन थालेपछि उक्त समस्याबाट स्थानीयबासी मुक्त भएको वडाध्यक्ष शेर्पा बताउछन् ।

जिल्लाका ६१ वडामध्ये यस वडामा सबैभन्दा पछि सडक पुगेको हो । यहाँ सडक पुगेसँगै जिल्लाका सबै वडा सडक सञ्जालसँग जोडिएकाछन् । स्थानीय तहको प्रयासमा सबै क्षेत्रमा सडक निर्माणले तीव्रता पाएको हो ।

पापुङमा मिक्वाखोलाको साँवास्थित फुङफुङे झरना हुँदै पुगिन्छ । गाउँमा सडक पुगे पनि साँवा र पापुङलाई जोड्ने मेवाखोलामा पक्की पुल बन्न बाँकी छ । हाललाई सवारी साधन सञ्चालनका लागि काठे पुल निर्माण गरिएको अध्यक्ष शेर्पाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?