अझै पूरै बाँडिएन मेलम्चीको पानी

लोकपथ
52
Shares

काठमाडौं । बहुप्रतिक्षित मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको आठ दिनसम्म पनि पूरै पानी राजधानीमा वितरण हुन सकेको छैन । मेलम्चीबाट आएको तीन करोड ५० लिटर पानी अझै राजधानीमा वितरण हुन सकेको छैन । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खोलाबाट ल्याइएको पानी राजधानीमा वितरण सुरु गरिएको आठ दिन पूरा भएको छ ।

मंसिर १८ गते मेलम्ची खोलाको पूरै अर्थात् १७ करोड ५० लाख लिटर पानी राजधानी आएको थियो । यसको छ दिनपछि अर्थात् मंसिर २३ गते शुक्रबारदेखि राजधानीका धारामा तेस्रोपटक मेलम्चीको पानी वितरण सुरु भएको थियो । पानी वितरण सुरु भएको आठ दिनमा पनि पूरै पानी राजधानीबासीलाई वितरण हुन सकेको छैन ।

छ महिनासम्म बन्द रहेको वितरण सञ्जालमा आएको समस्याका कारण पूरै पानी वितरण गर्न नसकिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । मेलम्ची खोलाबाट २६ दशमलव पाँच किमी सुरुङमा हाली सुन्दरीजल प्रशोधन केन्द्रमा ल्याइएको १७ करोड ५० लाख लिटरमध्ये हाल १४ करोड लिटर पानीमात्र राजधानीमा वितरण भइरहेको छ ।

केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्व’ मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको हो । यसका कारण सबै पानी अझै राजधानीमा वितरण हुन सकेको छैन । सत्र करोड ५० लाख लिटर पानी वितरण गर्न अझै केही दिन लाग्ने केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।

मेलम्चीको पानी राजधानीमा वितरणका लागि बनाइएका १० पानी ट्याङ्कीमध्ये हालसम्म नौ वटामा पानी पुगिसकेको छ । हालसम्म बोडेस्थित टिग्नी, कटुञ्जे, खुमलटार, मीनभवन, महाँकालचौर, पानीपोखरी, अनामनगर, बालाजु र बाँसबारीका पानी ट्याङ्कीमा मेलम्चीको पानी पुगेको छ । कीर्तिपुरको ट्याङ्कीमा पानी पुग्न अझै केही दिन लाग्ने उनले सुनाए ।

केही दिन भित्रमा मेलम्चीबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानी नै ग्राहकका धारामा पुग्ने छ । मेलम्ची खानेपानी आयोजनाले भने मंसिर १८ गतेदेखि नै १७ करोड ५० लाख लिटर पानी राजधानीमा ल्याइसकेको प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए । सुरुङ सफा गरेर मंसिर २३ गते शुक्रबारदेखि राजधानीमा खानेपानी वितरण भइरहेको छ ।

कति ठाउँमा पाइप फुटेका कारण सडकमा पानी जाने समस्या पनि भइरहेको छ । त्यो समस्या समाधान गर्दै पानी वितरण भइरहेको केयुकेएलले जनाएको छ । निर्देशनालयले बनाएको नयाँ वितरण सञ्जालका कति स्थानमा अझै पानी परीक्षण हुन सकेको छैन । मेलम्चीको पानी बन्द भएपछि गत असारदेखि पानी परीक्षण पनि रोकिएको थियो ।

मंसिर १८ गतेदेखि नै १७ करोड ५० लाख लिटर पानी मेलम्ची खोलाबाट राजधानी ल्याइए पनि वितरण सञ्जालमा आएको समस्या र कतिपय स्थानमा परीक्षण गर्दै पानी पठाउनुपर्ने भएकाले १४ करोड लिटर पानीमात्र वितरण भइरहेको हो ।

पानी नपाएको गुनासो

मेलम्चीबाट पानी ल्याएर प्रशोधन गरिने सुन्दरीजल क्षेत्रका स्थानीयबासीले पानी नपाउँदा गुनासो गरेका छन् । मेलम्चीबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानी प्रशोधन हुने गोकर्णेश्वर नगरपालिका–१ महाँकाल र त्यसमुनिका स्थानीयवासीले पानी नपाएको भन्दै गुनासो गरेका हुन् ।

महाँकालको पारिपट्टि कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १ पर्छ । त्यहाँका मानिसले समेत सहजरुपमा खानेपानी पाउन सकेका छैनन् । वाग्मती नदीको मुहान क्षेत्र र मेलम्ची नदीको पानी ल्याएर प्रशोधन गरिने यस क्षेत्रका बासिन्दाले खानेपानी नपाएपछि प्रशोधित पानी राजधानीमा वितरण हुन नदिने जनाएका छन् ।

यस क्षेत्रका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पनि मेलम्चीको पानी आउँदासमेत मुहानवासीले वाग्मतीकै पानी पनि पिउन नपाए प्रशोधन केन्द्रबाट पानी वाग्मती हाल्ने चेतावनी दिँदै आएका छन् । स्थानीय भीमसेन काफ्लेले सरोकार भएका निकायलाई सुझाव कार्यान्वयन गर्न अनुरोध गरेका छन् ।

गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका वडामा मेलम्चीको पानी वितरणका लागि नयाँ सञ्जाल निर्माण गरिएको छैन । नयाँ सञ्जाल निर्माण नगरे पुरानै वितरण सञ्जालबाट वाग्मतीको पानी नियमित दिन स्थानीयबासीले गरेको माग पनि सुनुवाइ नभएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदी बताउँछन् ।

गोकर्णेश्वर क्षेत्रमा पानी आउन छोडेको पनि वर्षौं बितेको छ । उचाइमा रहेको यो बस्तीमा पानीको समस्या समाधान गर्न सरोकार भएका निकायलाई अनुरोध गरिएकामा समस्या समाधान नभएपछि नगरपालिकाबाट नै ट्याङ्की बनाउन लागिएको वडाध्यक्ष जयराम महतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?