महिला उद्यमीका लागि सूचना प्रविधि तालिम दिईने

लोकपथ
117
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्बन्धी तालिम दिने भएको छ । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधि सम्बन्धी तालिम दिन लागिएको हो । तालिम सम्बन्धी सम्झौतापत्रमा महिला चेम्बरकी सचिव लिमा अधिकारी र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर समारोहमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि तालिम रोजगारी सिर्जना गर्न र व्यवसायिक वृद्धिका लागि फलदायी हुने अपेक्षा गरे । सूचना प्रविधिको विकास तिब्र गतिमा अघि बढिरहेको सन्दर्भमा उद्यमी महिलालाई दिइने तालिम महत्वपुर्ण भएको अध्यक्ष मल्लको भनाइ छ । विद्युतको उपलव्धतासँगै सूचना प्रविधिको विकास राज्यको पनि प्राथमिकतामा पर्नुपर्ने अध्यक्ष मल्लले बताए ।

सूचना प्रविधि तालिममा महिला चेम्बरको समन्वयमा स्थानीय तह, प्रदेश र केन्द्रीयस्तरबाटै उद्यमी महिला छनोट हुने चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । तालिममा सहभागि इच्छुक उद्यमी महिला छनोटका लागि एक स्वतन्त्र किमिटिसमेत गठन गरिने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

उद्यमी महिलाका लागि सञ्चार क्षमता, बजार प्रर्वधन, वेबसाईट डिजाईन लगायतका बिषयमा तालिम दिईने महिला चेम्बरकी सचिव लिमा अधिकारीले जानकारी दिईन । लर्ड बुद्ध फाउण्डेसनका अध्यक्ष जलानले अनलाईन व्यवसायलाई प्रर्वधन गर्न उद्यमी महिलालाई तालिम दिन लागिएको बताईन । अनलाईन एपको विकाससँगै लेखा सम्बन्धी तालिम समेत दिईने उनको भनाइ छ । तालिम सम्बन्धी कार्यक्रम पुस १५ गतेदेखि १ बर्षसम्म सञ्चालन हुने जलानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?