उपत्यकामा ट्राफिक जामको समस्या विकराल बन्दै, कहिलेसम्म होला समाधान ?

लोकपथ
78
Shares

भनिन्छ, सवारी जामको कारण सडक साँघुरो भएर हो । तर काठमाडौंकोे हकमा भने यो लागु हुँदैन । रातको समयमा बाहेक अन्य सबै समयमा ट्राफिक जाम हुने काठमाडौंमा अझै कार्यालय समयमा त गन्तव्यमा पुग्नै हत्ते हुन्छ । ट्राफिक व्यावस्थापनको नीति, योजना, पूर्वधारको अभाव साथै महानगरले यस विषयमा ध्यान नदिँदा पनि उपत्यकाको जाम झन् विकराल बन्दै गएको हो ।
महानगरमा बढेको जामले सडक प्रयोगकर्ता निराश मात्रै बनेका छैनन्, आक्रोशित समेत बनेका छन् । एक ठाउँबाट आर्को ठाउँमा जान घण्टौ बस्नु पर्ने र समयमै नपुग्ने समस्याले धेरैको टाउको दुखेको छ । काठमाडौं उपत्यकाको ट्राफिक जाम हाम्रा लागि कुनै नौलो र अनौठो होइन । दशकौंदेखिको यो समस्या अनौठो र उदेकलाग्दो बनेको चाहिँ हो । एकातिर उपत्यकामा कहालिलाग्दो सवारीको संख्या अर्कोतिर यातायात ब्यवस्थामा अनेकौं समस्याले अस्तव्यस्तता थपेको छ ।

यसले जनजीवनलाई अत्यन्तै कष्टकर बनाएको छ । यस्तो लाग्छ, ट्राफिक जाम सहरवासीको दैनिक जीवनको अभिन्न हिस्सानै बनिसकेको छ । हुँदा हुँदा त अहिले जेसुकै कारणले कतै समयमा पुग्न सकिएन भने पनि बहाना ‘ट्राफिक जाम’ नै बन्ने गर्दछ । उपत्यकामा दिनदिनै हुने सवारी जामका कारण सर्वसाधारणलाई आफ्नो गन्तव्यमा ‘जाम कि नजाम’ हुन्छ । १० मिनेटको बाटो पार गर्न एक घन्टाभन्दा बढी जाममा फसेको दर्जनौं अनुभव हामीसँग पनि छन् ।

काठमाडौं उपत्यकामा प्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चाप, साँघुरा सडक, सवारी नियम तथा ट्राफिक संकेतसम्बन्धि सडक प्रयोगकर्तामा रहेको ज्ञानको कमी र ज्ञान भएकाहरूबाट समेत ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्तिका कारण ट्राफिक व्यवस्थापन जटिल र चुनौतीपूर्ण बन्दै गएको छ ।

चोक–चोकमा ट्राफिक लाइट हुँदा सवारी साधन व्यवस्थित रूपमा आवातजावत हुने भए पनि उपत्यकाका सबै चोकमा ट्राफिक लाइट बिग्रिएर थन्किएका छन् । सरकारले पानी जहाज, रेलको सपना देखाइरहे पनि सार्वजनिक यातायात, विद्यमान सडकको मर्मतसम्भार र विस्तारजस्ता कुरामा भने कम चासो दिने गरेको छ ।

उपत्यकाका कोटेश्वर, त्रिपुरेश्वर, टेकु, माइतीघर, थापाथली, गौशालामा अत्यधिक जाम हुने गरेको छ । यी स्थानमा कार्यालय समयमा एक घण्टासम्म जाम हुने गरेको सवारी चालक तथा यात्रुको गुनासो छ । कोटेश्वरको जाम जडीबुटी र तिनकुनेसम्म हुने गरेको छ । बीपी राजमार्गबाट सवारी बाहिरिने र भित्रिने नाकाका रूपमा सवारी चाप हुँदा कोटेश्वरमा जाम बढेको हो ।

यहि काठमाडौंको सवारी जामले आजित भएका र एक निजी संस्थामा काम गर्ने खेमराज रेग्मी भन्छन् ,‘‘म कीर्तिपुरमा बस्छु । शनिबार बाहेक आफ्नो कार्यालय गैरीधारा दैनिक जाने आउने गर्छु । न त कार्यालयमा समयमै पुग्छु न त घर समयमा नै फर्कन्छु, सवारी जामले गर्दा मेले सोचेअनुसारको काम गर्नै सकेको छैन्। ‘‘  कीर्तिपुरदेखि गैरीधारा धेरै लामो दुरी त होइन, तर उनी आफ्नो कार्यालयमा १० बजे आउन बिहान ८ बजेभन्दा पहिले नै त्यहाँबाट हिड्ने बताउँछन् । १० किमि बाटो काट्न उनलाई दुई घण्टाभन्दा बढप् लाग्ने बताउँछन् । कहिले उही समयमा कीर्तिपुरबाट हिंड्दा छिटो आईपुग्ने त कहिले धेरै नै ढिलो हुने उनी बताउँछन् ।

बिहानको अफिस जाने आउने समय भएकाले पनि सवारी जाम बढेको उनको अनुमान छ । तर सार्वजनिक विदाको दिन पनि उनी कहिल्लै १० बजेभन्दा पहिले आफ्नो कार्यालय पुग्न नसकेको बताउँछन् । यो सवारी जामले गर्दा दिक्क उनी काठमाडौंमा सवारी जाम हट्यो भने आधा तनाव कम हुने बताउँछन् ।

रेग्मी एक पात्र मात्रै हुन् । उनी बाहेक अरुलाई पनि यो सवारी जाम तनावको विषय बनेको छ । सर्वसाधारण आजित भईसक्दा पनि ट्राफिक व्यावस्थापनका लागि सडक विभाग तथा ट्राफिक प्रहरीले ठोस योजना बनाएर कार्यान्वयन गरेको पाईदैन । काठमाडौं महानगरपालिकाले सडक फराकिलो बनाउन फुटपाथका व्यापारीलाई हटाउने गरेको थियो तर यो कामले पूर्णाता भने पाउन सकेको छैन । यहि अवस्था रहेमा सांस्कृतिक सहर भनिने काठमाडौं कुरुप सहर बन्ने अवस्था नआउला भन्न सकिन्न । जसको लागि नेपाल सरकार, उपत्यका विकास प्राधिकरण, उपत्यकाभित्रका पालिकाहरुले समन्वय गरेर दीर्घकालिन उपाय खोज्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?