समानुपातिकतर्फ कुन प्रदेशमा कुन पार्टीका सांसद कति ?

लोकपथ
65
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाका साथै प्रदेशसभातर्फका सबै समानुपातिक सांसद निर्वाचित भएको घोषणा गरेको छ । सूचीअनुसार कर्णाली प्रदेशबाट १६ जना निर्वाचित भएका छन् ।

जसमा एमाले र कांग्रेसका समान ५ सांसद निर्वाचित भएका छन् भने माओवादीबाट ४ जना निर्वाचित भएका छन् । यसैगरी एकीकृत समाजवादी पार्टी र राप्रपाबाट समान १ जना सांसद निर्वाचित भएका छन् ।

सुदूरपश्चिम प्रदेशसभामा २१ जना समानुपातिक सांसद निर्वाचित भएका छन् । जसमा एमालेबाट र कांग्रेसबाट समान ७, माओवादीबाट ३, नागरिक उन्मुक्ति पार्टीबाट २ तथा राप्रपा र नेकपा एकीकृत समाजवादी पार्टीबाट समान १ जना समानुपातिक सांसद निर्वाचित भएका छन् ।

लुम्बिनी प्रदेशसभामा समानुपातिकतर्फबाट १० दलको प्रतिनिधित्व भएको छ । निर्वाचन आयोगले बुधवार समानुपातिक सांसद निर्वाचित भएको घोषणा गर्दै सूची सार्वजनिक गर्दै लुम्बिनी प्रदेशबाट नेकपा एमालेबाट ११, कांग्रेसबाट १०, माओवादीबाट ४ सांसद निर्वाचित भएको जानकारी दिएको हो । यसैगरी राप्रपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबाट समान २ जना सांसद निर्वाचित हुँदा जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाबाट समान १ जना निर्वाचित भएका छन् । लुम्बिनीमा समानुपातिकतर्फ ३५ जना निर्वाचित हुने व्यवस्था रहेको छ ।

गण्डकी प्रदेशको प्रदेशसभामा २४ समानुपातिक सांसद आएका छन् । गण्डकी प्रदेशसभाले समानुपातिकतर्फका २४ समानुपातिक सांसद पाएको छ । निर्वाचन आयोगले बुधवार एमालेका १०, कांग्रेसका ९, माओवादीका २ र राप्रपाका २ समानुपातिक सांसदलाई निर्वाचित भएको घोषणा गरेको हो ।

बागमती प्रदेशसभामा समानुपातिकतर्फ ४४ जना निर्वाचित भएका छन् । एमालेबाट १४, कांग्रेसबाट १२, माओवादीबाट ७, राप्रपाबाट ६, नेकपा एकीकृत समाजवादी पार्टीबाट २, नेमकिपाबाट २ तथा हाम्रो नेपाली पार्टीबाट १ जना समानुपातिक सांसद निर्वाचित भएका छन् ।

मधेस प्रदेशको प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीबाट ४३ जना निर्वाचित भएका छन् । मधेशमा कांग्रेसका ९, एमालेका ८, जनमतका ७, जसपाका ७ सांसद निर्वाचित भएका छन् । यस्तै माओवादीका ४, नेकपा एकीकृत समाजादीका ३, लोसपाका २ तथा राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसद १–१ सिटमा निर्वाचित भएका छन् ।

यता, प्रदेश नम्बर १ को प्रदेशसभामा समानुपातिकतर्फबाट ३७ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगले बुधवार प्रदेश नम्बर १ मा एमालेका १५, कांग्रेसका १२, राप्राका ४ सांसदलाई निर्वाचित भएको घोषणा गरेको हो ।

यसैगरी माओवादी केन्द्रका ४, जनता समाजवादी नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीका समान १ सांसद पनि समानुपातिकतर्फबाट निर्वाचित भएका छन् । प्रदेशमा १ दशमलव ५ प्रतिशतको थ्रेस होल्ड कटाउने पार्टीका उम्मेदवार मतका आधारमा निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?