मेयर बालेनले दिएको जरिवाना मिनाहा निवेदन आयोगद्वारा अस्वीकार

लोकपथ
39
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले निर्वाचन खर्च जरिवाना मिनाहाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । स्थानीय तहको निर्वाचन खर्च पेश नगरेका कारण तोकिएको साढे ७ लाख जरिवाना मिनाहाको माग गर्दै उनले आयोगमा निवेदन दिएका हुन् ।

आयोगले जरिवाना गराउने निर्णय गरेको समयदेखि ६ महिनाभित्र जरिवाना नबुझाए स्थानीय तहमा निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने कानुनी व्यवस्था रहेकाले बालेनले जरिवाना मिनाहाको माग गर्दै आयोगमा निवेदन दिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मेयर शाहले आयोगमा निवेदन दिएको र आयोगले यसबारे अध्ययन गर्ने लोकपथलाई बताए ।

गत भाद्र ३१ गतेको आयोगको निर्णयअनुसार उहाँमाथि जरिवानाको निर्णय गरिएको हो । उनले भने, ‘निर्वाचन कानूनमा जरिवाना मिनाहा गर्ने र पुनर्मूल्यांकन गर्ने कानूनी व्यवस्था छैन । यस सम्बन्धमा आयोगले अध्ययन गर्छ ।’ मेयर शाहले आफू निर्वाचित भएलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले खर्च विवरण सार्वजनिक गरेको र निर्वाचित भएलगत्तै फोहोर व्यवस्थापनमा लागेकाले बुझाउन नपाएको निवेदनमा उल्लेख गरेका छन् ।

आयोगले प्रमुख शाहको निवेदनमाथि थप कारबाहीका लागि प्रक्रिया अघि बढाएको छ । निर्वाचन खर्च विवरण निर्धारित समयमै नबुझाएपछि आयोगले साहसहित स्थानीय तहको निर्वाचन खर्च पेश नगर्ने महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई साढे ७ लाख जरिवाना गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?