नेता केसीको दौडधुप के का लागि ?

लोकपथ
483
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद अर्जुननरसिंह केसीले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।

मंसिर–४ को निर्वाचनमा नुवाकोट–२ बाट निर्वाचित भएसँगै नेता केसीले गठबन्धनमा आवद्ध दलसहित एमालेका शीर्ष नेताहरुसँग समेत भेटघाट गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटघाट गरेका छन् ।

भेटघाटका क्रममा समसामयीक राजनीतिक विषय, अर्थतन्त्र सुधार, विकास निर्माण, भ्रष्ट्राचार नियन्त्रण र अब बन्ने नयाँ सरकारको प्राथमिकता लगायतका विषयमा छलफल गरेको बताएका छन् ।

नयाँ बन्ने संसदमा कुनै भूमिकामा लागि नेता केसीले भेटघाटलाई तीव्रता दिएको धेरैको बुझाइ रहेको छ । केही दिनयता केसी निकटले सभामुखका लागि उपयुक्त पात्र रहेको भनेर चर्चा समेत गरिरहेका छन् । जस कारण पनि नेता केसीको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तर आफूले कुनै पनि व्यक्तिगत पद प्राप्तिको विषयमा भेटघाट नगरेको नेता केसीले लोकपथसँग बताए । परिस्थिती निर्माण भएमा जस्तोसुकै जिम्मेवारी लिन पनि तयार रहे पनि व्यक्तिगत पद प्राप्तीको लबिङ भेटघाटको विषय नभएको उनले बताए ।

‘मेरो भेटघाट व्यक्तिगत लक्ष्य र उदेश्यका निमित्त होइन । जनताका आकांक्षा र अब आउने चुनौतीको सामनाका लागि राजनीतिक दलहरु एक भएर लाग्नुपर्छ भन्ने सन्देशसहित भेटघाटलाई तिव्रता दिएको हुँ ।’ नेता केसीले लोकपथसँग भने ।

भेटघाटका क्रममा आफूले जनताले सुनाएका निराशाहरुका विषयमा नेताहरुसँग कुरा राखेको र अब बन्ने सरकारलाई सो विषयमा झक्झक्याउने किसिमको वातावरण तयार गर्ने गरी आफू लागेको बताए ।

‘पुरानै अनुहार, पुरानै विचार र पुरानै शैलीले जनतामा जुन किसिमको निराशा आएको छ, त्यसलाई चुनौतीको रुपमा लिएर अब बन्ने सरकारले त्यसको निराकरण गर्नुपर्ने देखिन्छ ।’ नेता केसीले भने ।

राजनीतिक दलहरु सत्ता केन्द्रीत भएको र जनजिविकाको सवालमा काम हुन नसकेको बताए । जसको कारण अब बन्ने सरकार व्यक्ति केन्द्रीत भन्दा पनि जनचासो र गुनासाका विषय उठान गर्न सक्ने व्यक्तिलाई सत्ताको नेतृत्व दिनुपर्ने विषयमा नै छलफल भएको उनी बताउँछन् ।

बाहिर चर्चा भएजस्तो आफूले व्यक्तिगत रुपमा कुनै पदका लागि दाबी नरहेको उनको धारणा रहेको छ । जनपक्षीय जनप्रतिनिधिको रुपमा काम गर्ने उदेश्य रहेको बताउँदै परिस्थितीजन्य अवस्थामा कुनै पनि जिम्मेवारी लिनबाट नभाग्ने पनि बताए ।

‘बाहिरबाट आएको कुरा हो । मैले व्यक्तिगत रुपमा कहि कतै इच्छा व्यक्त गरेको छैन । जनपक्षीय जनप्रतिनिधिको रुपमा भूमिका निर्माण गरौँ भन्ने पक्षमा छु ।’ उनले भने, ‘सत्ताको बार्गेनिङ गरेको छैन । तर परिस्थितीले चुनौती आइलाग्छ भने म भाग्दिन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?