काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीयताले नेपालको संस्कृतिको प्रतिनिधित्व गर्नुपर्ने बताएका छन् । बुधवार आदिवासी जनजाति आयोगले ललितपुरमा आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनमा बोल्दै मन्त्री पौडेलले नेपाली प्रकृतिको विशेषता, भुगोल र नेपालको संस्कृतिको प्रतिनिधित्व हुने संघीयता आफूहरुले खोजेको बताएका हुन् ।
उनले देशलाई संघीय संरचनामा लैजाने बेलामा आफूहरुले समुदायको पहिचान झल्किने गरी नाम राखेर जान खोजेको भएपनि त्यस्तो गर्न नसकिएको बताए । समुदायको आधारमा नाम राख्दा जात विशेषको हुन खोजेको प्रचार भएपनि सो आधारमा नामाकरण गर्न नसकिएको उनले स्पष्ट पारे ।
मन्त्री पौडेलले समुदायको आधारमा संघीय संरचनाको नामाकरण गर्दा राम्रो हुने धारणा व्यक्त गरे । उनले राज्यका सबै निकायहरुमा समावेशी, समानुपातिक पहुँच र प्रतिनिधित्व सुनिश्चित हुनु नै संघीयताको खास अर्थ भएको उल्लेख गरेका छन् । संघीयता केवल प्रशासनिक विभाजनका लागि मात्रै भएको उनको भनाइ छ ।
उनले नेपालमा भएका सबै समुदाय, भाषा र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए । सबै भाषा र संस्कृतिको जगेर्ना गर्नु आपसमा विभेद सिर्जना गर्नु नभएको उल्लेख गरेका मन्त्री पौडेलले आपसी सद्भावलाई कायम राख्दै समुदाय विशेषको परम्परा र प्रचलनहरुलाई अगाडी बढाउनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया