पुनः मतदानकाे माग गर्दै झलनाथ खनालद्वारा सर्वाेच्चमा रिट दायर

लोकपथ
13
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता तथा इलाम क्षेत्र नं.–१ बाट प्रतिनिधि सभाका उम्मेदवार झलनाथ खनालले निर्वाचन बदरकाे माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा धाँधली भएको भन्दै उनले पुनः मतदानको माग गरेका हुन् ।

धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराइएको भन्दै खनालले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी फेरि मतदान हुनुपर्ने उनको माग छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको निवेदनमा उनले निर्वाचन आयोग, इलाम १ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारी अनि संघीय संसद सचिवालयलाई समेत विपक्षी बनाएका छन् ।

साे क्षेत्रबाट खनाललाई हराउँदै नेकपा एमालेका महेश बस्नेत निर्वाचित भएका थिए । इलाम–१ मा एमाले उम्मेदवार महेश बस्नेत २५ हजार ७५३ मतसहित निर्वाचित भएका थिए भने खनालले २३ हजार ८९ मत पाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?