चन्दा प्रकरणले अखिल क्रान्तिकारीमा भाँडभैलो, अध्यक्ष र उपाध्यक्षबीच आरोप प्रत्यारोप

लोकपथ
3.4k
Shares

काठमाडौं । माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको नाममा पोखरा विश्वविद्यालय र सिटिइभिटी लगायत संस्थामा चन्दा असुली भएको विषय सार्वजनिक भएको छ ।

संगठनको आधिकारिक व्यक्तिहरुबाटै चन्दा तथा आर्थिक बार्गेनिङ गरिएको तथ्यहरु बाहिरिएसँगै क्रान्तिकारीमा खैलाबैला मच्चिएको छ ।

क्रान्तिकारीका उपाध्यक्षद्वय नारायण खनाल र इन्द्र भुसालले संगठनको आधिकारिक व्यक्तिहरुबाटै चन्दा असुलीको काम भएको खुलासा गरेका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै उपाध्यक्ष भुसालले शैक्षिक संस्थाहरुमा आर्थिक बार्गेनिङ गर्नेकुरा आफूहरुलाई सैह्य नहुने बताएका छन् । साथै त्यस्ता किसिमका बार्गेनिङ नगर्न चेतावनी समेत दिएका छन् ।

उपाध्यक्ष भुसालले अध्यक्ष पञ्चा सिंहकै निर्देशनमा आर्थिक बार्गेनिङ गर्ने काम भएको आरोप लगाएका छन् ।

लोकपथसँग कुराकानी गर्दै उपाध्यक्ष भुसालले सिंहकै निर्देशनमा हप्ता दिन अघिबाटै मान्छेहरु पठाएर चन्दा माग्ने, शिक्षकहरुलाई थर्काउने धम्क्याउने काम भएको आरोप लगाए ।

‘अध्यक्ष पञ्चा सिंहकै निर्देशनमा त्यो विश्वविद्यालयका साथीहरुलाई हप्तादिन अघिबाट त्यहाँ पठाइ सरलाई थर्काउने धम्क्याउने लगायत आर्थिक बार्गेनिङका काम भएको छ ।’ उनले भने ।

संगठन लामो समयदेखि चलायनमान नरहेको अवस्थामा जिम्मेवार व्यक्तिहरुबाटै आर्थिक चलखेल गर्ने काम गरेकोले थप संगठन कमजोर भएको उनले बताए ।

‘संगठन धुजाधुजा भएको अवस्थामा जिम्मेवार व्यक्तिहरुले नै आर्थिक चलखेलका कुराहरु गर्नु बान्छनिय हुँदैन ।’उनले भने, ‘संगठन कमजोर भएको अवस्थामा पार्टी कमजोर भएको छ । यस्तो अवस्थामा हामी बोलेनौ भने संगठन झन कमजोर हुन्छ ।’

त्यस्तै अर्का उपाध्यक्ष नारायण खनालले पनि आर्थिक बार्गेनिङ गरेर संगठनलाई बदनाम गराउने काम सैह्य नहुने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले त्यस्ता प्रकरणका बारेमा संगठनमा पटकपटक ध्यानाकर्षण गराए पनि कुनै सुुनुवाइ नभएपछि सामाजिक सञ्जालमा लेख्दै बाध्य भएको बताएका छन् ।

यता क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले भने त्यसको बचाउ गरेकी छिन् ।

विश्वविद्यालय र शैक्षिक संस्थामा आर्थिक बार्गेनिङ गर्ने काम गम्भीर रहेको भन्दै संगठनबाटै त्यस्तो हल्ला फैलाउनु आपत्तिजनक रहेको लोकपथसँग बताइन् । संगठनले त्यसलाई गम्भीर किसिमले लिएको भन्दै अध्यक्ष सिंहले बुधबार पत्रकार सम्मेलन गर्दै सत्यतथ्य जानकारी दिने बताइन् ।

‘यो एकदम गम्भीर विषय हो । यस्तो वाइयात कुरा फैलाउनु पार्टी संगठन र सिंगो विद्यार्थी राजनीतिलाई नै बदनाम गराउने षडयन्त्र हो । भोलि हामी त्यसको विषयमा पत्रकार सम्मेलन गरेर सत्यतथ्य जानकारी दिन्छौँ ।’ अध्यक्ष सिंहले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?