गैंडाकोट नगरपालिकालाई समृद्ध बनाउनु नै हाम्रो ध्येय : नगरप्रमुख अधिकारी [अन्तरर्वार्ता ]

नेपालको संंविधान जारी भएपछि दोेस्रो पटकको स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । नवीनतम संंरचनामा कार्यसम्पादन गर्न गाह्रो भएको पहिलोपटक निर्वाचित भएका जनप्रतिनिधिहरुले गुनासो गरेका थिए । कर्मचारी समायोजनमा भाँडभैलो, भौतिक पूर्वाधार तथा संयन्त्रको कमीले स्थानीय तहको विकासमा प्रभाव परेको थियो । तर अहिले विकासको आधार निर्माण भइसकेको स्थानीय तहमा दोस्रो पटक नवनिर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको करिब ७ महिना पुग्न लागेको छ ।

यसबीचमा निर्वाचित जनप्रतिनिधिले कार्यसम्पादन के, कसरी गरिरहेका छन् भन्ने जान्न हामीले यो स्तम्भ शुरु गरेका छौं । जसअन्तर्गत गण्डकी प्रदेशको नवलपरासी पूर्व जिल्लामा रहेको गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीसँग समग्र नगरपालिकाका विषयमा गरिएको कुराकानीको सम्पादित अंश:

तपाईं यस गैंडाकोट नगरपालिकामा नेतृत्व तहमा रहेको सात महिना बित्यो । कस्तो रह्यो यो अवधि ?

यो अवधिमा हामी पनि कार्यसम्पादन कसरी गर्ने भन्ने सिक्दैछौं भने अर्कोतर्फ नगरपालिकालाई समृद्ध बनाउन हरपल प्रयासरत रहेका छौं । पहिलो पटक निर्वाचित भएर जनताको प्रतिनिधित्व गर्ने अवसर मतदाताहरुले दिनुभएको छ । यो समयमा नगरबासीको गुनासो, प्रतिक्रिया राम्रै पाएका छौ । जनताको आवश्यकता, अधिकार र आकांक्षालाई मध्यविन्दुमा राखी न्याय, निष्पक्ष र औचित्यका आधारमा जनतालाई सार्वजनिक सेवा उपलब्ध गराउन सम्पूर्ण कर्मचारीलाई आग्रह गरेका छौ । जसले गर्दा सार्वजनिक सेवाका विषयमा कसैले पनि गुनासो गर्नु भएको छैन् ।

एउटा सामान्य जनता हुनु र जनप्रतिनिधि हुनुमा के भिन्नता पाउनुभयो ?

सामान्य जनता हुँदा पालिकालाई नेतृत्व तहले कसरी अगाडि बढाउँछ भन्ने रहन्थ्यो भने अहिले सम्रग पालिकाको नेतृत्व गरिरहँदा पालिकाको विकासलाई कसरी अगाडि बढाउने भन्ने विषय नै मुख्य प्राथमिकता रहने रहेछ । जनताको रुपमा रहँदा आफूलाई पनि स्थानीय सरकारले विभिन्न किसिमका क्रार्यक्रम पारिदिए जस्तो हुन्थ्यो जस्तो लाग्थ्यो । तर अहिले सम्पूर्ण नगरबासीलाई समेटेर आफैले योजना ल्याउँदा विभिन्न समस्या आएका छन् । ती समस्या हटाएर नगरबासीको चित्त बुझाउदै काम गर्दा झन्झटिलो हुँदोरहेछ । यद्यपि, जिम्मेवार प्रतिनिधिको अनुभव भइरहेको छ ।

तपाईंले यो अवधिमा पालिकाबासीले अनुभूति गर्ने गरी के–के काम गर्नुभयो ?

पहिलो पटक निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय सरकारको नेतृत्व गरिरहँदा पालिकाबासीले स्थानीय सरकारको अनुभूति महशुुस गर्न सकेका थिएन् भने अहिले नगरबासीलाई समेटेर विभिन्न योजना ल्याएकाले पनि यहाँका जनताले स्थानीय सरकारको अनुभूति गर्न पाएका छन् । हामी निर्वाचित भएर आएसँगै ल्याएको बजेट अहिले कार्यान्वयन चरणमा छ । गैंडाकोट नगरपालिकामा रहेका विभिन्न वडाहरुमा सडक विस्तार र खोलिसकेका सडकहरुको कालोपत्र कार्य अगाडी बढेको छ । यसबीचमा ढलको व्यावस्थापन साथै विद्युत प्रधिकरणसँगको समन्वयमा हामीले गैडाकोटको विभिन्न वडामा विद्युत विस्तारका लागि पहल गरेका छौं । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनले गर्दा पनि हामीले सोचेजस्तो काम गर्न नसकेको अवस्था छ । हामीले यो समयमा देखाउने भन्दा पनि दीर्घकालीन विकासको अनुभूति नगरबासीलाई दिनेछौं ।

पालिकाको बजेटमा कुन कुन कुरा प्राथमिकतामा परे ?

हामीले अहिले मुख्यतया पालिकालाई समृद्ध बनाउने उद्देश्यअनुरुप स्वास्थ्य, शिक्षा, कृषि र सडक विस्तारलाई विशेष महत्व दिएर बजेट विनियोजन गरेका छौं  । तुलनात्मक रुपमा भने हामीले सडकलाई नै पहिलो प्राथमिकता दिएका छौं । सडकसँगै हामीले रोजगारको विषयलाई पनि उत्तिकै प्राथमिकता दिएका छौं ।

तपाईंले निर्वाचनका बेला जनतालाई दिएको आश्वासन काममा बदल्नुभयो कि छैन ?

निर्वाचनमा हामी जुन इच्छाशक्तिले निर्वाचनमा होमिएका थियौं त्यो अनुरुपको सम्पूर्ण कार्य त पूरा भएका छैनन् । तर निर्वाचित भएर आएसँगै सामान्य प्रतिबद्धता पूरा गर्दै गएको छौं । हामी आएको जम्मा सात महिना पुग्यो । यसबीचमा धेरै समय त हामीलाई बुझन नै लाग्यो । अबको प्राथमिकता भने हामीले जनता दिएका आश्वासनलाई काममा बदल्ने नै हुनेछ ।

यस पालिकाका मूख्य समस्या के के रहेछन् ? त्यसलाई समाधानका लागि तपाईले चालेका कदम केके हुन् ?

मुख्यतया गैंडाकोट एक तराई जिल्लाको नगरपालिका भएकाले बर्खायामको समयमा बस्तीहरुमा बाढी पस्ने समस्या छ । यो समस्या अहिले मात्रै होईन पहिले पनि थियो । अघिल्ला जनप्रतिनिधिहरुले पनि यस विषयमा खासै चासो देखाएनन् । गएको बर्खायाममा पनि हामीले यो समस्या भोग्नु प¥यो । यो समस्यालाई न्यूनीकरण गर्न हामी लागेका छौं । जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा हामीले नदी किनार वरपर तट निर्माणलाई तिव्रता दिएका छौं । भौतिक पूर्वाधारको कमी, कार्मचारी समायोजन, नयाँ जनप्रतिनिधि भएकाले काम गर्न चुनौती नै छ । तर पनि यो चुनैतीलाई एक छेउमा राखी समृद्ध गैडाकोट नगरपालिका बनाउन हामी निरन्तर लाग्ने छौं ।

यस्तो छ गैडाकोट नगरपलिको संक्षिप्त परिचय

गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा अवस्थित साविक नवलपरासी जिल्लाबाट टुक्रिएर बनेको पूर्वीतर्फको खण्ड नवलपरासी (ब.सु.पू) जिल्लाको पूर्वी भागमा पर्दछ । नेपालको राजधानी काठमाडौंबाट १५० कि.मी. दक्षिण पश्चिम, गण्डकी प्रदेशको राजधानी पोखराबाट १३० कि.मी. दक्षिणमा अवस्थित छ । यसको पूर्व र दक्षिणमा चितवन जिल्ला (भरतपुर महानगरपालिका), पश्चिममा देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिका, उत्तरमा तनहुँ जिल्ला रहेको छ । यसको पूर्व र दक्षिणमा नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा कालिगण्डकी नदी र पश्चिमतर्फ झरही खोलाले सिमाना छुट्टाएकाले यसलाई नदीवेश्ठित नगरपालिका पनि भन्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?