थाइ राजकुमारी लुम्बिनीमा

बुटवल- थाइल्याण्डका राजकुमारी महाचाकरी सिरिनधोरन् आज भगवान बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आउनुभएको छ । राजकुमारी सिरिनधोरन्ले लुम्बिनीमा विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ ।थाइ एअरको विशेष वायुयानबाट शुक्रबार बिहान काठमाडौँ पुग्नुभएकी राजकुमारी सिरिनधोरन् त्यहाँबाट बुद्ध एअरको चार्टरमार्फत लुम्बिनी आउनुभएको हो । राजकुमारी सिरिनधोरन्सँग ४४ जना थाइ सरकारका विशिष्ट पाहुना पनि भ्रमण दलमा रहेका छन् ।राजकुमारी लुम्बिनी आउने कार्यक्रम रहेपछि करिब एक सातादेखि थाइल्याण्डबाट झण्डै चार हजारभन्दा बढी थाई बौद्धमार्गी र थाई सरकारका प्रतिनिधि लुम्बिनी आएको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिनुभयो ।उहाँले लुम्बिनीस्थित थाइल्याण्ड सरकारद्वारा निर्मित थाइ राजकीय बौद्ध विहारको समुद्घाटन गर्नुभएको छ । करिब दुई दशकअघिबाट निर्माण थालिएको थाई बौद्ध विहार लुम्बिनीमा तीनवटा निर्माण भएका छन् । यी बौद्ध विहार थाइ कला, संस्कृतिसहित बौद्ध कला संस्कृतिमा आधारित थाइ आर्किटेकमा आधारित निकै कलात्मक ढंगले निर्माण गरिएको छ ।बौद्ध विहारको उद्घाटनपश्चात् राजकुमारी सिरिनधोरन्ले लुम्बिनीमा आयोजना गरिएको आँखा शिविरको समेत उद्घाटन र अवलोकन गर्नुहुनेछ । यससँगै उहाँले यहाँस्थित बेबी बुद्धको दर्शन र मायादेवी मन्दिरमा पुगेर दर्शन तथा पूजाअर्चना गर्नुका साथै प्रार्थना गर्नुहुने कार्यक्रम रहेको लुम्विनी विकास कोषका योजना प्रमुख भट्टराईले जानकारी दिनुभयो ।लुम्बिनीमा रहँदा उहाँले होटल कसाईमा केही क्षण विश्राम र विशिष्ट व्यक्तिलाई भेटघाटसमेत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।थाइ सरकारले लुम्बिनीको विकास र लुम्बिनी गुरु योजना सम्पन्न गर्न विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । थाइ सरकारले लुम्बिनीमा सडक, पर्यटन, बौद्ध विहार, त्यहाँका ग्रामीण क्षेत्रमा शिक्षा स्वास्थ्यका क्षेत्रमा समेत सहकार्य गर्दै आएको छ ।राजकुमारीको भ्रमणलाई मध्यनजर राखेर लुम्बिनीको सुरक्षा व्यवस्था निकै कडा पारिएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?