फूलमाला लिएर डिल्लीबजार कारागारमा रेशमका समर्थक, के भन्छन् प्रवक्ता ?

लोकपथ
117
Shares

काठमाडौं । सात वर्षअघि घटेको टीकापुर घटनामा दोषी ठहर भइ जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी छुट्ने हल्लापछि उनका समर्थक स्वागतका लागि डिल्लीबजार कारागार पुगेका छन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा हुने चर्चापछि उनका कार्यकर्ताहरु डिल्लीबजार कारागार पुगेका हुन् ।

चौधरीलाई स्वागत गर्न भन्दै केही कार्यकर्ताहरु झण्डा र फूलमालासहित कारागार अगाडि गएर बसेका छन् । यता, नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले रेशम चौधरी रिहाई हुने हल्ला आफूलेपनि सुनेको तर, विश्वास नलागेको लोकपथसँग बताए । उनले भने, ‘स्वागतका लागि साथीहरु पुगेको कुरा मैलेपनि जानकारी पाएको छु, उहाँ रिहाई हुने विषय कसरी सम्भव होला र ? सरकारले अध्यादेश राष्ट्रपति समक्ष पेश नै गरेको छैन । स्वीकृत हुने, नहुने कुरा नै अनिश्चित छ, कानुनी प्रक्रिया नै टुंगोमा लाग्न सकेको छैन ।’

कैलालीको टीकापुरमा २०७२ सालमा थरुहटले गरेको आन्दोलनमा झडप हुँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका पाँच जना, सशस्त्र प्रहरीका दुई जना र एक बालक गरी आठ जनाको ज्यान गएको थियो । सोही घटनामा दोषी ठहर भई चौधरीले जन्मकैदको सजाय भोगिरहेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधन गर्ने निर्णय गरेको छ । यसबाट कस्ता–कस्ता मुद्दा फिर्ता लिन नमिल्ने भनी किटान गरिएका नकारात्मक सूचीलाई संशोधन गरिने छ । सत्ता स्वार्थका लागि रेशम चौधरीलाई रिहा गर्न अध्यादेश ल्याएको भन्दै सरकारको चौतर्फी आलोचनासमेत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?