कुमारी बैंकको बिशेष साधारण सभा सम्पन्न

लोकपथ
0
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडको विशेष साधारण सभा आइतवार कुमारी बैंक लिमिटेड नक्साल कार्यालय काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप ज.व.राको अध्यक्षतामा सम्पन्न भएको छ ।

सो सभाबाट विशेष प्रस्ताबको रुपमा पेश गरिएको कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) गर्ने सम्बन्धमा गरिएको अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जर सम्बन्धी बाँकी कार्य र आवश्यक प्रकृयाहरु पूरा गरी नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडसँग मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गर्ने, मर्जर सम्बन्धी समझदारी पत्र, संयुक्त मर्जर समिति गठन, दुवै संस्थाको सम्पत्ति तथा दायित्वको मुल्यांकन गर्न सञ्चालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकका सम्बन्धमा भएको निर्णय अनुमोदन गर्ने, एक आपसमा गाभ्ने/गाभिने (मर्ज) प्रयोजनका लागि मुल्यांकनकर्ताबाट प्राप्त चल तथा अचल सम्पत्ति तथा कारोबारको मुल्यांकन प्रतिवेदनको आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १:१ स्वीकृत गर्ने, एक आपसमा गाभिए पछि बन्ने संस्था कुमारी बैंक लिमिटेडको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि हुने भएकोले सोही अनुसार पूँजी वृद्धि गरी वृद्धि भएको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी अनुसार प्रवन्धपत्रको दफा ५(क), ५(ख) र ५(ग) संशोधन गर्ने तथा नियमावलीको नियम ८ मा सञ्चालक संख्या ७ जना हुने गरी र नियम २९ मा सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्था संशोधन गर्ने प्रस्ताव समेत पारित गरिएको बैंकले जानकारी दिएको छ ।

कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्ज) सम्पन्न भए पश्चात चुक्ता पूँजी २६ अर्व भन्दाबढी हुने छ भने शाखा संख्या तीन सय ५५, ए. टी. एम. संख्या दुई सय ४४,एक्स्टेन्सन काउन्टर संख्या ५१, निक्षेप (ग्राहक) तीन खर्ब एक अर्ब भन्दाबढी, कर्जा २ खर्ब ७८ अर्ब भन्दा बढी हुनेछ ।

कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक, संस्थापक तथा सर्वसाधारण शेयरधनी, सञ्चार जगत, बैंकसँग सम्बन्धित विभिन्न सरकारी एवम् नियमनकारी निकाय तथा सम्पूर्ण कर्मचारी वर्गको अहिलेसम्म प्राप्त सहयोग, सद्भाव तथा विश्वास आगामी दिनमा पनि निरन्तर रहिरहने अपेक्षा राख्दै आगामी दिनमा ग्राहकहरुलाई अझ छिटो छरिटो र सरल बैकिङ्ग सेवा दिने क्रम जारी रहने प्रतिवद्घता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?