प्रधानमन्त्री पदका प्रति अतृप्त प्यास र जोखिममा देशको भविष्य !

मंसिर ४ गते सम्पन्न आमनिर्वाचनले दलहरुको हैसियत प्रष्ट गरिदिएको छ । पाँच वर्षअघिको निर्वाचनले बनाएको संसदीय गणितमा फेरबदल ल्याउँदा सदनमा नयाँ दलहरुको उपस्थिति पनि देखाएको छ । पाँच वर्षअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर चुनाव लड्दा पहिलो भएको एमालेको हैसियत, पाँच वर्षपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर चुनौती दिँदा दोस्रोमा झरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले राष्ट्रिय दलको हैसियत बनाउँदा नागरिक उन्मुक्ति पार्टीको सदनमा उदय भएको छ । नेकपा एस र लोकतान्त्रिक समाजवादी पार्टीको राष्ट्रियस्तर खुम्चँदा ठूला दलहरुले आफ्नो परम्परागत भोट बैंक गुमाएका छन् । कांग्रेस–एमाले–माओवादीले लाखौंको संख्यामा परम्परागत मतदाता गुमाउँदा नयाँ दलहरुले मौका पाएका छन् ।

तीसौं वर्षदेखि राज्यसत्तामा रजगज गरिरहेका दलका नेताहरुलाई आवधिक निर्वाचनमार्फत् मतदाताले सन्देश दिईसक्दा पनि ठूला भनिएका दलका नेताहरुमा चेत पलाएको देखिन्न । बेरोजगारको भट्टीमा पिल्सिएर विदेशिएका लाखौैं युवाले मत दिन नपाउँदा जीतको खुशी मनाइरहेका दलका मुखियाहरु परिवर्तन हुने पक्षमा छैनन् । दलभित्रै केही गर्छु भन्नेलाई प्रोत्साहन र बाटो छाड्ने पक्षमा उनीहरु देखिँदैनन् ।

पटक पटक मन्त्री र प्रधानमन्त्री भएर देश र जनताका लागि उल्लेख्य केही दिन र गर्न नसकेकाहरु नै फेरि पनि प्रधानमन्त्रीको च्याँखे दाउमा सरिक छन् । प्रधानमन्त्रीप्रतिको प्यास यस्तो छ कि, पटक पटक उक्त पदमा पुगेर उल्लेख्य केही गर्न नसकेकाहरु फेरि त्यसैका लागि मरिहत्ते गरिरहेका छन् ।

कांग्रेसमा शेरबहादुर देउवा, एमालेमा केपी ओली, माओवादीमा पुष्पकमल दाहाल, नेकपा एसमा माधव नेपाल फेरि पनि प्रधानमन्त्री बन्ने दौडमा अग्रपंक्तिमा छन् । त्यसबाहेक यी तीनै दलमा प्रधानमन्त्रीका लागि योजना बोकेर नभई लालच देखाउन अरु दर्जन देखिएका छन् ।

बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्रीको कुर्सीमा छन् । उनी मौका पर्दा अर्को पटक फेरि प्रधानमन्त्रीको कुर्सीमा पुग्न चाहन्छन् । त्यसका लागि ‘भाङ पेल धतुरो पेल, ले मेरो तोरीको तेल’ भन्ने शैलीमा पार्टीसत्ता चलाइरहेका छन् । अर्थात् उनले चाहँदा पार्टीमा उनलाई चुनौती दिनसक्ने हैसियत कसैसँग छैन ।

आफ्नो गूटमा त उनी एकलौटी हकदार हुन् नै, पार्टीभित्रको विपक्षी गूटबाट पनि चुनौती नआओस् भनेर उनले सबैखाले प्रबन्ध गरिसकेका छन् । तितर बितर बनेको इतर पक्षसँग देउवालाई रोक्ने हैसियत देखिएको छैन । १४ औं महाधिवेशनमै आफ्ना विरोधीहरुलाई तितर बितर बनाएर आफ्नो योग्यता देखाइसकेका देउवाले ती लोभीपापी समूहलाई एक ठाउँमा उभिन दिएका छैनन् ।

अझ चुनावका समयमा ती गूटलाई ठीक लगाउने गूटीय नाइकेहरुलाई एक/दुई थान टिकट थमाएर मुख बुझो लगाइसकेका छन् । यसै पनि चुनावका बेला टिकट बितरण गर्दा ५० प्रतिशतभन्दा बढी आफ्नालाई दिएका उनले अरु गूटलाई एक ठाउँमा उभिन नसकून भन्ने राम्रै व्यवस्था गराइसकेका छन् ।

त्यसैले त गठबन्धन दललाई मिलाएर आफै प्रधानमन्त्री बन्ने दाउ गरिरहेका उनले पार्टीभित्रका आकांक्षीहरुलाई ‘प्रयास गर’ भनेर छिर्के दौडमा कुदाएका छन् । पटक पटक अवसर पाउँदा पनि परिणाम दिन नसकेका ‘अतृप्त प्यासी’हरु गठबन्धन दलभित्रै प्रशस्त रहँदा प्रधानमन्त्रीको मृगतृष्णा बोकेर हिड्ने कांग्रेसी नेताहरु उत्तिकै छन् ।

आफू पाँच पटक प्रधानमन्त्रीको कुर्सीमा पुगिसक्दा आन्दोलन र राजनीतिक मोर्चामा सँगै रहेका रामचन्द्र पौडेललाई एक पटक प्रधानमन्त्री बनन त भन्ने उदार भाव देउवाले देखाउन सकेका छैनन् ।

उता, एमालेमा केपी ओली मौका पर्दा आफै उक्त पदमा पुग्ने लालसा बोकेर बसेका छन् । उनले आफूबाहेक अरुलाई योग्य देख्न सकेका छैनन् । उघिल्लो पटक नै उनले आफूबाहेक अरुलाई प्रधानमन्त्री स्वीकारेको भए नेकपा विभाजनको मुखमै पुग्दैनथ्यो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड त, यसै पनि कांग्रेस र एमालेसँग बार्गेनिङ गरेर आफ्ना लागि पद सुरक्षित गर्न लागेकै छन् । अहिले पहिलो झमेटमै प्रधानमन्त्री बन्न सकेमा अघिल्लो पटक एमाले अध्यक्ष ओलीले बाचा गरेर पनि प्रधानमन्त्री बन्न नदिएको मेख मार्न सकिन्थ्यो भन्ने उनलाई लागेको छ ।

नेकपा एसका माधव नेपाल त्रिशंकू संसदको यस कालखण्डमा एक पटक फेरि प्रधानमन्त्रीको पदमा पुग्न पाए हुन्थ्यो भन्ने तृष्णा पालेर बसेका छन् । अर्का नेता झलनाथ खनाललाई जनताले नै हराइदिएर मात्र हो, नत्र उनले पनि यो लिगलिगे दौड छाड्ने थिएनन् ।

यी कुनै नेतालाई पनि लागेको छैन कि, अब मैले सक्रिय/कार्यकारी राजनीतिबाट अवकाश लिनुपर्दछ । नयाँ पुस्तालाई पार्टी र राज्यको बागडोर सुम्पनु पर्दछ । उनीहरुलाई त आफूलाई चुनौती दिनेहरुको पत्ता काट्नमै फुर्सद छैन ।

कांग्रेसभित्र गगन थापाले संसदीय दलमा सभापति शेरबहादुर देउवालाई चुनौती दिने बताउँदा उनकै पक्षका नेता शेखर कोइरालाले समर्थनका लागि मुख खोल्न सकेका छैनन् । बरु उनलाई मायाजालमा पार्न देउवाका दूतहरु वरिपरी घुमिरहेका छन् ।
एमाले र माओवादीमा त त्यो हैसियत पनि कसैले देखाउन सकेका छैनन् ।

आजका दिनमा एमालेमा ओली र माओवादीमा प्रचण्ड नेतृत्वलाई चुनौती दिने हिम्मत कसैले देखाएका छैनन् । एमालेभित्र ओलीको आलोचना गर्ने भीम रावललाई टिकट नै दिइएन भने घनश्याम भूषाललाई पार्टीबाटै निष्काशन गरिएको छ । यस्तोमा मूल नेतृत्वका कारण भोलि समग्र पार्टी पंक्ति र मुलुकमाथि नै पर्नसक्ने संकटबारे दलका बाँकी नेताले पनि नसोच्नु दूर्भाग्य सिवाय केही होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?